भुकम्प पिडितका लागि ढोलामा ५५ घरको एकीकृत नमुना वस्ती

1503 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

संयोगले कति जीवनको इहलीला समाप्त पार्छ त कतिपय अवस्थामा मृत्युको मुखबाट जोगाउँछ पनि । धादिङका दिनेश तामाङलाई भने विनासकारी भुकम्पका बेला यस्तै एउटा संयोगले बचायो । भूकम्प गएको दिन वाहिर आउनुहोस भनेर एकजना स्वयमसेवीकाले बोलाएका कारण दिनेश बाँच्न सफल हुनुभयो । उहाँकै नेतृत्वमा धादिङको ढोला-७ मा ५५ घरको एकीकृत नमुना वस्ती बनेको छ ।

?????????????????????????????????????????????????????????

दिनेश तामाङको पहलमा निर्मित घर र दिनेश तामाङ्ग

शंकरापुर एकेडेमीबाट एक महिने सामुदायिक अध्ययनका लागि सिन्धुपाल्चोकको नवलपुर पुगेका दिनेशले भोलिपल्ट अर्थात २०७२ वैशाख १३ गते नवलपुर हेल्थपोष्टमा तालिम सन्चालन गर्नु थियो । त्यसैको तयारीमा लागेका दिनेश सहित १९ जना एउटा होटलभित्र थिए । तालिम सामग्री तयार पारिरहेकै बेला एकजना स्वास्थ्य स्वयंसेविकाले उहाँलाई केही कामका लागि बाहिर बोलाउनुभयो । बोलाएको सुन्नासाथ दिनेश बाहिर निस्कनुभयो । बाहिर निस्कनासाथ भूकम्प आयोे र होटलको तीन तले भवन गल्र्यामगुर्लुम्म ढल्यो ।

उहाँका १८ जना साथीहरु तालिम सामाग्री बनाइरहेका थिए । दिनेश त्यत्तिबेलाको क्षण सम्झिदै भन्नुहुन्छ ‘मलाई कोही पनि जीवित छन् भन्ने लागेकै थिएन, तर भाग्यवश २ जना साथीहरु मात्र गुमे । बाँचेका १३ जना भने गम्भीर घाइते थिए, कसैको खुट्टा त कसैको हात थिएन । अनि कसैको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरेर अस्पतालमा पुर्‍यायौं ।’ घाइते साथी लिएर अस्पताल पुग्दा साथीका आफन्तले दिनेशलाई स्याबासी दिए । साथीलाई बचाएर अस्पतालसम्म पुर्याएकोमा उहाँको चौतर्फी तारिफ भयो ।

साथीको उपचारमा खटिइरहँदा उहाँको कानमा अर्को खबर आयो ‘जन्मस्थान धादिङको लापामा कुनै घर सग्ला छैनन् रे ! यो खबरले दिनेशलाई काठमाडौमा बसिरहन दिएन । विभिन्न निकायको पहलमा हेलिकोप्टर सहित सरकारी उद्धार टोली लिएर उहाँ पुग्नुभयो लापामा । सरकारबाट राहतको पहिलो प्याकेज लिएर गाउँमा पुग्दा थोरै उद्धारले पुग्ने अवस्था नदेखेपछि उहाँले विभिन्न संघसंस्था गुहारेर हेलिकोप्टर मार्फत पीडितको उद्धार र राहत वितरण गर्न सहयोग गर्नुभयो ।

यसरी बन्यो एकीकृत वस्ती

असहाय बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय गैरसरकारी संस्थाकी ९६ बर्षीया क्यानेडियन नागरिक बोनि क्याप्सिनोलाई दिनेशले लापाका पीडितको वास्तविक अवस्था सुनाउनुभयो । उहाँले लापाबाट विस्थापित भएर आएका पीडितलाई केही गर्न आग्रह गर्नुभयो । ती बृद्धाले दिनेशको प्रस्तावलाई स्वीकारर्दै क्यानडामा रकम संकलन अभियान नै चलाउनुभयो । भूकम्प पीडितका लागि संकलित २९ लाख रुपैयाँबाट ढोला-७ मा ३८ रोपनी जग्गा किनियो । जहाँ अहिले ५५ घरको नमुना वस्ती बनेको छ ।

लापाबाट विस्थापित भूकम्पपीडितले दिनेशको नेतृत्वमा १६ महिना खटेर ५५ परिवारका लागि २८ घर बनाएका हुन् । प्रतिपरिवार चारचार कोठा पुग्ने गरी ती घर बनाइएका छन् । प्रत्येक घरको लागत झण्डै १४ लाख परेको छ । हरेक घरमा भूकम्प प्रभावितले चार लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

यो बस्ती बनाउन आपतकालीन राहत र उद्धारको काम गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था स्याल्वेशन आर्मी, स्पेनको माउन्टेनियर्स फर हिमालयस्, सेतो गुम्बा अन्तर्गतको राङज्यूङ् एसे सेनफेनले पनि सहयोग गरेको छ । राङज्यूङ् एसे सेनफेनले सिमेन्ट, रड लगायतका वाह्य सामग्री उपलब्ध गराएको तामाङले बताउनुभयो ।

उज्यालोअनलाइनबाट