निर्वाचनमा तालमेल गर्ने कांग्रेस र माओवादी केन्द्रबीच सहमति

469 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ ९, वैशाख – नेपाली कांग्रेस र माओवादी केन्द्र धादिङको बैठकले द्विपक्षीय तालमेल गरेर मात्रै निर्वाचनमा जाने सैद्धान्तिक सहमति गरेको छ । सत्ता साझेदार दुई मुख्य दल स्थानीय निर्वाचनमा पनि तालमेल गरेर चुनावमा जाने भएका छन । २०७० को संविधान सभा निर्वाचनमा जिल्लाको ३ वटै क्षेत्रमा नेकपा एमालेले विजय हासिल गरेपछि त्यस यता दुईपार्टी एमालेका बिरुद्ध मोर्चावन्दी गरेर लाग्दै आएका छन ।

शुक्रबार राति अबेरसम्म चलेको यी दुई पार्टीको बैठकले सातवटा (नगर र गाउँपालिका) कांग्रेसले र ६ (नगर र गाउँपालिका) माओवादी केन्द्रले उम्मेदवारी दिने गरी सैद्धान्तिक सहमति गरेका हुन् । ‘६ र ७ मा कुरा टुङ्गियो तर कुन कुन नगर र गाउँपालिका कस्ले लिने भन्नेचाहिँ थप गृहकार्य गरेर शनिबार टुङ्ग्याइने बैठकमा सहभागी एक नेताले बताए । सहमति पत्रमा हस्ताक्षर गरिसकेका छैनौं, केही कुरा टुंगो लाग्न बाँकी नै छ तर कुरा मिल्छ बैठकमा सहभागी एक कांग्रेस नेताले भने ।

‘करिब–करिब गाउँपालिका पनि टुङ्गिएको छ तर सबै फाइनल नभई बाहिर नलाने निर्णय भएको समेत ती नेताले बताए । माओवादी केन्द्रले धादिङले जिल्लाभरका नगर र गाउँपालिकामा शनिबार गर्ने भनिएको उम्मेदवार घोषणा कार्यक्रम स्थगित गरेको छ ।

कांग्रेसको वर्चश्व रहेको सदरमुकाम निलकण्ठ नगरपालिका  कांग्रेसलाई र धुनीवेंसी नगरपालिका माओवादी केन्द्रलाई उम्मेदवारी दिने अनौपचारिक सहमति भएको छ ।
कांग्रेसले त्रिपुरासुन्दरी, खनियावास लगायतका तीनवटा गाउँपालिकामा सर्वसम्मतले अध्यक्ष पदमा उम्मेदवार चयन गरिसकेको छ ।

छलफलमा माओवादी केन्द्र जिल्ला अध्यक्ष शालिकराम जम्मरकटेल र कांग्रेसका सभापति रमेश धमला लगायतका जिल्लास्तरीय नेताहरुको उपस्थिति थियो ।