डीआईजी नवराज सिलवाल छुटे, सर्वोच्च भने लगिएन

508 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रहरीको छानविन टोलीले सिलवाललाई सोमबार विहान नियन्त्रणमा लिएको थियो । उनका कानुन व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ता शम्भु थापा पनि सँगै गएका थिए ।

डीआईजी सिलवाललाई हेडक्वाटर लगेर उनीमाथि लागेको अभियोग जानकारी दिनुका साथै बयान लिइएको छ, जसको भिडियो रेकर्ड समेत गरिएको छ ।

सिलवालले कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

त्यही समितिले बयान लिएको र सिलवाललाई छाडिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले  जानकारी दिए । उनले भने, ‘बयान लिन ल्याइएको थियो । बयान सकेर उहाँको घरमा छाड्न पठाइएको छ ।’

सिलवाललाई सर्वोच्च भने लगिएन

छानविन टोलीले सिलवालसँग बयान लिइरहेका बेला सर्वोच्च अदालतमा भने बन्दीप्रत्यक्षीकरणको रिटमा बहस भएको थियो । सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहबरमा सोमबार नै रिहा गर्न आदेश पनि दियो।

तर, प्रहरीले उनलाई अदालत लगेन । वरिष्ठ अधिवक्ता थापा हेडक्वाटरबाट सिधै सर्वोच्च अदालत आएका थिए । उनले भने, ‘म आफ्नो गाडीमा आएँ, उहाँ प्रहरी भ्यानमा हुनुहुन्थ्यो तर, सर्वोच्चमा ल्याइएन।’

प्रहरी हेडक्वाटर स्रोतले भने सर्वोच्चको आदेशको जानकारी आइनसकेको प्रतिक्रिया दिएको छ।