धादिङमा तीनजना महिलाले दिए प्रमुखमा उम्मेद्वारी

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ जिल्लाबाट तीनजना महिलाले प्रमुखमा उम्मेद्वारी दिएका छन् । सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट शोभा डङ्गोलले मेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । उपमेयरमा भने यसअघि मेयरमा पार्टीले सिफारिस गरिएको भनिएका मनराज भण्डारी शैलेशलाई अघि सारेको छ ।

यसैगरी नेकपा माओवादीले ज्वालामुखी गाउँपालिकाको प्रमुखमा लक्ष्मी थापालाई अघि सारेको छ । थापा द्वन्द्वकालमा श्रीमान् गुमाउनु भएको थियो । गंगा जमुना गाउँपालिकामा नयाँ शक्ति पार्टीको तर्फबाट सरस्वती सिंखडाले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

जिल्लाको ११ गाउँपालिका र २ नगरपालिकामा एमाले र काँग्रेसले भने प्रमुखमा कुनैपनि महिलालाई अघि सारेनन् । सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा अर्जुन श्रेष्ठ गोर्खाली र उपमेयरमा गंगादेबी श्रेष्ठ, नेपाली काँग्रेसको तर्फबाट मेयरमा भिमप्रसाद ढुङ्गाना र उपमेयरमा कल्पना अधिकारी, नयाँ शक्तिको तर्फबाट मेयरमा केशव अधिकारी र उपमेयरमा अम्बिका घिमिरे श्रेष्ठ, राप्रपाको तर्फबाट मेयरमा भरत अधिकारी र उपमेयरमा शान्तिमाया गुरुङ र नेकपा मालेको तर्फबाट मेयरमा खगेश्वर कोइरालाले उम्मेद्वारी दर्ता गराउनुभएको छ उज्यालो अनलाइनमा खबर छ ।