८६ बर्षिया चन्द्रमाया चुनावी मैदानमा

733 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Chandra maya Bk 86धादिङ,२१ बैशाख : चन्द्रमाया बिक अहिले ८६ बर्ष लाग्नु भयो । यो उमेरमा समेत जनप्रतिनिधि भएर जनताको सेवा गर्ने भावनावाट प्रेरित भई चन्द्रमायाले उम्मेदवारी दिनु भएपछि उहाँ अहिले जिल्लामै चर्चाको पात्र बन्नु भएको छ । धादिङको थांक्रे गाउँ पालिका वडा नम्बर ५ बाट चन्द्रमायाले दलित महिला सदस्यका लागि उम्मेदवारी दिनु भएको हो ।
नेकपा एमालेको तर्फबाट थांक्रे गाउँ पालिका वडा नम्बर ५ को दलित महिला सदस्य पदमा ८६ बर्षीया विकले उम्मेदवारी दिएपछि उहाँको चर्चा शुरु भएको हो ।साविकको केवलपुर, थांक्रे,तसर्पु र भुमेस्थान गाविसको सबै भाग र गोगनपानी गाविसको ५,६,७ र ८ नम्बर वडा मिलाएर वनाईएको थांक्रे गाउँपालिका जिल्लाकै ठुलो भुभाग भएको गाउँ पालिकामा पर्दछ । चन्द्रमाया साविकको तसर्पु गाविस वडा नम्बर ९ दामेचौर का वासिन्दा हुनुहुन्छ । श्रीमतीलाई उम्मेदवार वनाएकोमा चन्द्रमायाका श्रीमान समेत खुसी हुनुहुन्छ । आंफुहरुलाई बुढेसकालमा भत्ता दिने पार्टीले उम्मेदवार बन भने पछि यो उमेरमा पनि जोश आएको चन्द्रमायाले बताउनु भयो ।
उमेरले पाको भएपनि उहाँको जोश जांगर भने युवाहरुकै जस्तै फुर्तिलो रहेको थांक्रे गाउँ पालिका वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार प्रेमवहादुर तामाङ वताउनुहुन्छ । ‘हामीहरु भन्दा छिटो उकालो ओरोलो गर्नुहुन्छ । सबै गाउँ बस्तिमा हिंडेरै पुग्नु भएको छ, थकाईको महसुसनै गर्नु भएको छैन’ तामाङले वताउनु भयो ।
चन्द्रमाया जस्तै नीलकण्ठ नगरपालिका वडा नं ७ मा नेकपा एमालेबाट दलित महिला सदस्यमा उम्मेदवारी बन्नुभएकी चिनिमाया परियार र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी उहाँकी बुहारी कलपे परियार पनि चर्चामा रहेका छन । स्थानीय तहको निर्वाचनअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका वडा नंम्बर ७ बाट सासूबुहारी नै फरकफरक पार्टीबाट उम्मेद्धार बनेका हुन । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा पनि सासु बुहारीको एउटै पदमा उम्मेदवारी परेको छ । राप्रपाले बुहारी राममाया परियारलाई दलित महिला सदस्यबाट उम्मेदवार वनाएको छ भने उनकी सासु मैया परियार नेकपा मओवादी केन्द्रबाट सोही वडाको दलित महिला सदस्यमा उम्मेदवार वन्नु भएको हो ।
त्यसै गरी जिल्लाकै सिद्धलेक गाउँपालिकामा पनि आमाछोरी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन । सिद्धलेक गाउँपालिकाको वडा नं १ मा सरिना सिलवाल भट्टराईले नेपाली कांग्रेबाट महिला सदस्यमा उम्मेदवारी दिनुभएको छ भने सोही गाउँपालिकाको उपप्रमुखमा राप्रपाबाट सरिनाकी आमा ज्ञानुमाया सिलवालले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै नीलकण्ठ नगरपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसबाट गौतमहरि अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने उहाँकै दाजु शिवहरि अधिकारीले नीलकण्ठ नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ