धादिङका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

797 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading-4-768x512केशव अधिकारी
धादिङ,२८ वैशाख – बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न खटाईएका कर्मचारीहरु बिहीवार जिल्लाभरका मतदान केन्द्रमा पुगेका छन ।
धादिङ जिल्लाको रुविभ्याली र गंगाजमुना गाउँपालिकाको केही मतदान केन्द्रहरुमा भने नेपाली सेनाको हेलिकप्टरबाट अधिकृत सहित मतपत्र र मतपेटिका पठाइएको थियो । सदरमुकामबाट ३ दिनको पैदलयात्रा पछि पुग्न सकिने जिल्लाको उत्तरी भेगको तिप्लिङ,सेर्तुङ, लापा,रिगाउँका मतदान केन्द्रसम्म पुग्न र मतपेटिका लैजान समस्या हुनुका सथै समयमै मतदान अधिकृतलाई पु¥याउन समस्या भएपछि हेलिकप्टर मार्फत मतदान अधिकृत सहित मतपत्र र मतपेटिका पठाइएको जिल्ला निर्वाचन कार्यालय ले जनाएको छ ।
जिल्लाको अति विकटमा रहेको यि क्षेत्रमा अझै पनि मोटरवाटो पुग्न सकेको छैन । मोटर सुविधा पुगेका जिल्लाको अन्य मतदान केन्द्रहरुमा सुरक्षाकर्मी सहित मतदानमा खटिएका कर्मचारीको टोली यातयातका साधनबाट मतपत्र तथा मतपेटिका लिएर पुगेका हुन ।
रुविभ्याली गाउँपालिका अन्तर्गत साबिकको सेर्तुङ, लापा, र गंगाजमुना गाउँ पालिकाको रि गाउँ लगायतका गाविसमा पुग्न सदरमुकामदेखि तीन दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीवार विहान सदमुकाम नजिकका मतदान केन्द्रका कर्मचारीहरूलाई विदाई गरेपछि जिल्लाको सबै केन्द्रमा कर्मचारी पुगेका हुन । मंगलबार उत्तरी धादिङको रुविभ्याली, खनियावास, नेत्रावती, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिका लगायतका मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरूले आवश्यक सामग्रीहरू निर्वाचन अधिकृतको कार्यालयबाट बुझेर सम्वन्धित केन्द्र तर्फ कर्मचारी खटिएका थिए ।
धादिङ जिल्लामा २ नगरपालिका र ११ गाउँ पालिका रहेको छ भने २ सय ५२ मतदान केन्द्र मा १५ सय ६ जना कर्मचारी खटिएका छन । मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित एउटा केन्द्रमा ६ जना कर्मचारी रहनेछन । मतदान स्थल र केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी सबै मतदान केन्द्रमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मतदान केन्द्रमा पुगेको मतदान अधिकृत सहितको कर्मचारी टोलीले सर्वदलिय बैठक राखी मतदानका दिन अपनाउनु पर्ने आचारसंहिता, निवाचन सम्वन्धि प्रचलित कानूनका वारेमा सरोकारवालाहरुलाई जानकारी गराउन थालेका छन । यसै गरी मतदाता परिचयपत्र पनि वितरण गर्न सुरु गरिएको छ ।
जिल्ला निर्वाचन कार्यलय धादिङका निर्वाचन अधिकृत इश्वर सिंम्खडाका अनुसार बैशाख २८, २९ र ३० गते प्रत्येक मतदान केन्द्रमा गएर फोटोसहितको मतदाता परिचयपत्र लिन सकिने बताइएको छ । साथै आ–आफ्नो परिचयपत्र निर्धारित समयभित्र लिन सम्पूर्ण मतदातालाई स्थानीय राजनैतिक दल, र मतदाता शिक्षा स्वयंसेवकहरु मार्फत आग्रह गरिएको सिंम्खडाले बताए ।
मतदाता परिचयपत्र आ–आफ्ना मतदान केन्द्रबाट निर्वाचनका लागि खटिएका कर्मचारीमार्फत प्राप्त गर्न सकिनेछ । मतदाता परिचय पत्र लिन जाँदा सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्ने र अशक्त, असाहाय तथा बिरामी भएकाहरुको हकमा घरका परिवारका सदस्यले लिन सकिने पनि निर्वाचन कार्यलय धादिङले जनाएको छ ।
धादिङमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङक अनुसार कुल २ लाख ६ हजार २ जना मतदाता मध्ये १ लाख ३ हजार १ सय २४ पुरुष, १ लाख २ हजार ८ सय ७७ महिला र एक जना तेश्रोलिङ्गी छन । निर्वाचनका लागि १५०६ कर्मचारी खटाईएका छन ।