नेपाल तिम्रो पेवा होइन-कविता

1432 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13062469_1034426459968503_6668113739512734895_n
सारा जंगल बढारेर 

पतकर सबै उठाएर
माटो कालै बनाउँदा पनि
छ महिना भन्दा बढी खान नपुगेपछि
हो दाई गाउँको बारी बाँझै राखी
म बाध्य भएर मुग्लान पसेको

अन्न बालीले खान पुगेन
नगदे खेती
तिम्रो गरीब मुक्ति आन्दोलनले बेच्न पाइएन
गोलभेडाले बजार नपाएर
बारीमै कुहिएर
उर्वर माटो अम्लियतामा परिणत हुँदा पनि
मैले हरेस नखाई
पसिनाले अम्लियता पखालेर
धेर थोर उब्जाएर
ठेलागाडामा पोलिथिनमा भरेर पनि बेच्न थालेकै थिएँ
जब तिमी आन्दोलनको अवज्ञा गरिस् भन्दै
ढाँडमा कटाबाँस बजार्दै
ठेला पोलेर आगो ताप्न थाल्यौ नि
तब गाउँको बारी बाँझै राखी
खाडी पस्न बाध्य भएको हुँ दाई म

दाई
अगेनो छेउमा बसी
खयरको कोइलामा हात सेकाउँदै
त कहिले
बिहानीको पहेँलो सूर्यको किरणमा
भिटामिन डि हुन्छ भन्दै
मेरी आमाले मेरो जीवन भरलाई पुग्ने गरी
बर्षौ पहिले नै सेक्दि सकेकी थिइन्
मेरो आत्माले पनि
तिमीले जस्तै नेताको ढोका ढोका ढुक्न
र अरुले फालेको चारो टिप्न दिन्थ्यो भने
कस्सम दाई म यो छपन्न डिग्रीको चर्को घाममा
गैती बेल्चा हान्ने थिइनँ
कस्सम दाई म यो जिउदै मान्छे खाने ठाउँमा
सेकेन्ड भर पनि बस्ने थिइनँ

दाई तिमी विदेशमा बसेर नभुक् भन्दै छौ नि
तर दाई
तिम्रो गरीब मुक्ति आन्दोलनले
बजार भरी फालेको
पम्प्लेट र पर्चाहरू उठाउने नगरपालिका छ नि
हो त्यसको तलब पनि
विदेशमा बसी भुक्नेहरुले नै पठाइ रहेको छ

तिमीले बिहान बिहानै
राम नाम जप्नु भन्दा पहिले
ठुली गर्ने तिम्रो प्रभु नेता छ नि
हो त्यसको तलब भत्ता पनि
विदेशमा बसेर भुक्नेहरुले नै पठाइ रहेको छ

तिमीले आफ्नो शक्ति देखाउन भाँच्ने
ति रेलिङहरु
अर्को पटकको तिम्रो आन्दोलनको लागि
पुनः उठाउने पैसा छ नि
हो त्यो पनि
विदेशमा बसेर भुक्नेहरुले नै पठाइ रहेको छ

फलानो ठाउँमा बाढीका कारण यतिको मृत्यु भन्दै
तिमी फेसबुकको भित्तामा रिप लेखि रहँदा
तिमी राहतको कमिसन
कताबाट फुस्काउन सकिन्छ भनेर सोचिरहँदा
विदेशमा बसेर भुक्नेहरु
राहत रकम संकलन गरिरहेको थियो र हुने छ

त्यसैले दाई बुझ
यो विदेशमा बसेर भुक्नेहरुले
राष्ट्र र राष्ट्रियता संग सम्बन्ध बिच्छेद गरेको छैन
पराइको भूमिमा रहेर पनि
देशको माया मारेको छैन
देशको हरेक अफ्ट्यारामा
ज्यानको बाजी राखेर कमाएको पैसा
रातभर आँखा झिमिक् नगरी कमाएको पैसा
देशी फोर म्यानको गालीले दुःखेको चित्तमा
मल्हम लगाउन छोडेर देशकै लागि पठाएकै हो
यति गर्दा पनि तिम्रो परम् प्रभु नेताले
गलत काम गर्दा
हामीले विरोध तथा आलोचना गर्न पनि नपाउनु ?

को हौ तिमी हामीलाई आदेश दिने ?
खबरदार नेपाल तिम्रो पेवा होइन
जहाँ तिम्रो मनोमानी चल्नलाई । 

-झलक मगर खरमटारे (अकेला)
सिद्धलेक-६ धादिङ
हाल मलेसिया