दोस्रो चरणको निर्वाचनको मिति फेरि सर्दै, चुनाव असार १४ गते !

608 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : दोस्रो चरणको स्थानीय चुनाव फेरि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ।

मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय गर्न सक्ने ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो। ‘असार ९ गते मुस्लिम समुदायको रमझान पर्व पर्ने भएकाले उहाँहरुबाट चुनावको मिति सार्न दबाब आएको छ’, ऊर्जामन्त्री शर्माले भन्नुभयो, ‘त्यसैले यस विषयमा केही निर्णय गर्नुपर्ने अवस्था छ।’

स्रोतका अनुसार चुनावको मिति सार्ने विषयमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग बालुवाटारमा मंगलबार नै छलफल गर्नु भएको छ।

असार ९ गते दोस्रो चरणको चुनावको मिति तोकिएको भए पनि मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मिति सार्ने विषयमा मंगलबार बसेको सर्वदलीय बैठकमा छलफल भएको थियो।

बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेताले मुस्लिम समुदायको पर्व रमजान असार ९ गते पर्ने भएकाले चुनावको मिति पाँच दिन सार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी असार ९ गते चुनाव नगर्न मुस्लिम समुदायले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार नै ज्ञापनपत्र बुझाइसकेको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले मुस्लिम समुदायको मागप्रति आफू सकारात्मक भएको प्रतिक्रिया दिनुभएको थियो।