प्रहरीमा नयाँ नियमः बर्दी र हतियारको तस्बिर सार्वजनिक गर्न रोक

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Police-Headquatarकाठमाडौंः नेपाल प्रहरीले आफ्ना फौजलाई अझै बढि अनुशासित र व्यबस्थित बनाउँन नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने तयारी गरेको हो ।

प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पीसीसी बैठकले पारित गरेको छ । प्रहरी अहिलेसम्म २०६० मा जारी सञ्चारसम्बन्धी नीतिकै भरमा थियो । निर्देशिका जारी भएपछि प्रहरीले व्यक्तिगत सामाजिक सञ्जाल चलाउँदा पनि ख्याल गर्नुपर्ने भएको छ ।

निर्देशिकाले प्रहरीलाई सामाजिक सञ्जालहरूमा बर्दीसहितको, डयुटीमा खटिँदाको, हातहतियार देखिने फोटो प्रयोग गर्न रोकेको छ । यसअघिको सञ्चार नीतिमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी व्यवस्थाहरू थिएनन् । निर्देशिकाअनुसार सबै तहका प्रहरीले अदालतमा विचाराधीन मुद्दा, सामाजिक सद्भाव बिग्रने सामग्री र राजनीतिक झुकाव देखिने सामग्री लेख्न वा त्यस्ता सामग्रीमा लाइक, कमेन्ट गर्न नपाइने उल्लेख छ ।

आगामी महिनाबाट लागू हुने भनिएको यो निर्देशिकाले देशैभरिका प्रहरी कार्यालयबाट सञ्चालित संस्थागत सामाजिक सञ्जालको प्रयोगमा पनि एकरूपता ल्याउनेछ । त्यस्तै, कार्यस्थलमा खटिएका बेला मोबाइल फोन कतिबेला प्रयोग गर्ने भन्ने निर्देशिकामा तोकिएको छ ।

यात्राका क्रममा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) अन गर्न नपाइने पनि निर्देशिकामा उल्लेख छ । जीपीएस अन राख्दा व्यक्ति कहाँबाट कहाँ गइरहेको भन्ने सहजै थाहा हुन्छ । मन्त्री र प्रधानमन्त्रीका पीएसओ बनेकाहरूले पनि जीपीएस लोकेसन अन गरेर यात्रा गर्दा त्यसले सुरक्षा खतरा निम्त्याएको भन्दै यस्तो नियम ल्याइएको हो ।

यसअघिको सञ्चार नीतिले इलाका प्रहरी कार्यालयसम्मलाई अफिसियल फेसबुक पेज चलाउन अनुमति दिएको थियो । तर त्यस्तो पेजमा के राख्ने, के नराख्ने र कसरी चलाउने भन्नेमा द्विविधा थियो । नयाँ निर्देशिकाले जिल्ला प्रहरी कार्यालयलाई मात्रै फेसबुक पेज चलाउन दिने नीति ल्याएको छ ।

-नेपाल तारा बाट