एसईई नतिजा आज सार्वजनिक हुँदै

961 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

See-exam-4-594326ec78f605.06015572काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको बताउनुभयो । ‘तयारी अन्तिम चरणमा पुगेको छ । प्रविधिमा कुनै समस्या आएन भने शुक्रबार जसरी पनि नतिजा सार्वजनिक गर्छौं’, रेग्मीले भन्नुभयो । उहाँका अनुसार बिहीबार मध्यरातसम्म बसेर भए पनि काम सक्नेगरी कर्मचारी खटिएका छन् ।

परीक्षा समितिका अध्यक्ष तथा शिक्षासचिव शान्तबहादुर श्रेष्ठलाई नतिजा सार्वजनिक गर्ने विषयमा पनिकाले जानकारी गराइसकेको छ । ‘सचिव अध्यक्ष हुने भएका कारण उहाँले जतिखेर समय दिनुहुन्छ, त्यतिखेर नै नतिजा सार्वजनिक हुन्छ’, रेग्मीले भन्नुभयो, ‘शुक्रबारका लागि बिहान ६ बजे समय दिनुभयो भने पनि नतिजा सार्वजनिक गर्न तयार छौं ।’

विभिन्न जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भएर आएको प्राप्तांकलाई कम्प्युटरमा इन्ट्री गरेर त्रुटि सच्याउने काम भइरहेको छ । हरेक विद्यार्थीको प्राप्तांकलाई रुजु गर्नुपर्ने भएकाले काम केही समय लाग्ने रेग्मीले बताउनुभयो । विगत वर्षमा एसएलसी भनिएको परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन संशोधनसँगै एसईई नामकरण गरिएको हो । गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी भएका थिए ।

यसअघि कक्षा १० अन्तिम परीक्षालाई एसएलसी भनिँदै आएकोमा गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनपछि कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो । कक्षा १२ सम्मलाई माध्यमिक तह मानिएसँगै एसएलसी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको दायित्व पनि राष्ट्रिय परीक्षा बोर्डमा गएको छ ।