बर्षा लाग्दा पनि खानेपानीको हाहाकार

662 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ । धादिङको गल्छी गाउँपालिका कार्यपालिकाको पहिलो बैठकले आगामी तीन वर्ष भित्रमा गाउँपालिकाका सबै घरमा खानेपानी र शौचालय निर्माण गरिसक्ने निर्णय गरेको छ । त्यसैगरी नीलकण्ठ नगरपालिकाले पनि खानेपानी र सरसफाइलाई पहिलो एजेण्डा बनाएको छ । जिल्लाको गल्छी गाउँपालिका र नीलकण्ठ नगरपालिकामा मात्रै होइन सबै स्थानीय तहको प्रमुख चुनौतीको रुपमा खानेपानी देखिएको छ ।
paniko-dukh-bujhdai-dhading-1दुई वर्षअघिको भूकम्पले वर्षौदेखि प्रयोग गरिरहेको खानेपानीको मुहान सुकेपछि गाउँबस्तीमा खानेपानीको हाहाकार मच्चिएको स्थानीय बासिन्दाको भनाइ छ । भूकम्पपछि सुकेर बाँकी रहेका पानीका मुहान पनि खडेरीले धमाधम सुक्न थालेपछि त्यसको असर मानवमा मात्रै होइन पशु चौपायामा पनि परेको छ ।
‘भूकम्प पहिला गाउँमा पानी समस्या थिएन । गाउँमै रहेको मूल पनि थियो । आयोजनाबाट गाउँमा ल्याइएको पानी पनि बिहान बेलुका आएकै हुन्थ्यो । भूकम्पपछि पानीकै लागि रातभर सुत्नसमेत नपाइने बाध्यता रहेको गल्छी गाउँपालिका–२ का रामेश्वर खतिवडा बताउँछन् । पहिलेदेखिको समस्या समाधान नहुँदै दुई वर्षअघिको भूकम्पपछि धेरैजसो गाउँबस्तीमा मुहान सुकेपछि जताततै खानेपानीको हाहाकार परेको गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना बताउँछिन् ।
खानेपानीका लागि मुख्य स्रोत रहेको मुहान सुक्दै गएपछि गाउँबस्तीदेखि बजारसम्म खानेपानीको समस्या बढेको उपाध्यक्ष तिमिल्सिनाको बुझाइ छ । देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वीराजमार्ग र छिमेकी मुलक र चीनसँग भारतलाई स्थलमार्गबाट नजिक बनाउने मुख्य मार्गका रुपमा केरुङ गल्छी ठोरी सडकको आसपासमा गल्छी गाउँपालिका रहेको छ ।
आर्थिक ढंगबाट छिट्टै अघि बढ्ने सक्ने सम्भावना भए पनि बढ्दो बजारीकरणसँगै खानेपानीको माग पूरा नहुँदा दैनिक जीवनका लागि चाहिने पानी पु¥याउनै मुस्किल हुन थालेपछि गाउँपालिकाले अबको मुख्य एजेण्डाको रुपमा घरघरमा खानेपानी धारा र शौचालयको अभियान सुरू गर्न लागिएको सरोकारवाला निकायसँग हातेमालो गरेर अघि बढ्ने रणनीति तय भइरहेको उपाध्यक्ष तिमिल्सिनाले बताइन् ।
असार लागि सक्दा पनि पर्याप्त वर्षा नभएकाले विगतमा प्रयोग भइरहेका मुहानहरुमा पनि पानी सुक्दै जान थालेका छन् । वर्षा लाग्दा पनि पानी नपरेको र हिउँदे वर्षा पनि राम्रोसँग नभएकाले पानीका स्रोत सुक्दै गएको बूढापाकाको भनाइ छ । वनजङ्गल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र कुसमयको अतिवृष्टि हुने क्रम बढेकाले पानीका मुहान सुक्ने र बाढीले मुहान पुरिने गर्दा समस्या बढेको खाद्य अधिकारकर्मी राजेन्द्रकुमार बस्नेतको भनाइ छ ।
बस्नेतका अनुसार जिल्लाको उत्तरी क्षेत्रमा भन्दा मध्य र दक्षिणी भेगका गाउँवस्तीमा खानेपानीको समस्या विकराल बन्दै गएको छ । उत्तरी क्षेत्र हिमाली भेग भएका कारण खानेपानीको समस्या कम देखिए पनि जिल्लाको मध्य र दक्षिणी भेगमा वर्षौदेखि खानेपानीको समस्या रहेको छ । जिल्लाको धुनिबेसी र नीलकण्ठ नगरपालिका, थाँक्रे, गल्छी, गजुरी, वेनिघाट, रोराङ, सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरीलगायतका गाउँपालिकाका धेरैजसो बस्तीमा वर्षौदेखि खानेपानीको संकट रहँदै आएको छ ।
बजार क्षेत्रमा नजिकैको खोला तथा मुहानबाट ल्याइएको पानी भण्डारण गरेर धारामार्फत वितरण प्रणाली गर्ने गरिए पनि स्रोत कम हुँदै गए पनि समस्या पनि थपिँदै गएको र यही अवस्था कायम रहे अबको केही वर्ष भित्रमा खानेपानीको समस्या झनै विकराल बन्ने नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष बाबुराम लम्साल बताउँछन् ।
मुहानको संरक्षण र निरन्तरको सफाइले मुहानमा पानी सुक्नबाट बचाउन सकिने भएकाले बाँकी रहेका मुहान जोगाउन सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र पाण्डेको सुझाव छ ।
खानेपानीको समस्या देखिएका नगर गाउँबस्तीको समस्याको स्थायी समाधानका लागि पानी भण्डारण गर्ने ठूला ट्याङ्की निर्माण कार्यलाई प्राथमिकतामा राख्नुपर्ने र खेर जाने पानीलाई जोगाउनुपर्ने सिद्धलेक गाउँपालिकाका कार्यकारी अधिकृत लक्ष्मण भट्टराई बताउँछन् ।