ब्रुसबाङ पर्यटकीय सम्भावना वोकेर पनि ओझेलमा

809 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ac50b2590a29544c64f3bd9faf848ec0धादिङ, – धादिङको दक्षिणी भेगमा पर्ने महाभारत श्रृङ्खलाको ब्रुसबाङ पर्यटकीय सम्भावना वोकेर पनि ओझेलमा परेको छ ।

प्रचार प्रसारको कमी तथा यातायातको सुविधा नपुगेको यो गाउँ अहिले बत्ति मुनिको अध्याँरो जस्तै बनेको छ । पृथ्वीराजमार्गको मलेखुवाट सुरु हुने मलेखु भण्डारा सडक हुँदै चितवन र धादिङ जिल्लाको सिमानामा रहेको कान्द्राङगढीसम्म २० किलोमिटर दुरी मोटरमा गएर त्यहाँबाट तीन घण्टाको पैदल यात्रापछि पुगिन्छ ब्रुसबाङ ।

समुद्री सतहबाट २२ सय मिटर उचाईमा रहेको ब्रुसबाङ चेपाङ समुदायको मात्र बसोबास रहेको बस्ती हो । यहाँबाट अन्नपूर्ण ,माच्छापुच्छ्रे, मनासलु, गणेश, पाविल, जुगललगायतका हिमालको अवलोकन गर्न सकिन्छ । उचाईको बस्ती भएकाले थुम्काबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले ब्रुसवाङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसकिने धादिङ क्षेत्र नम्बर ३ का सभासद तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे बताउनुहुन्छ ।

ब्रुसबाङवाट धादिङ, गोरखा, चितवन, मकवानपुर र पर्सा लगायतका जिल्लाका बस्तीहरु समेत देख्न सकिन्छ । चेपाङ संस्कार र संस्कृतिको अवलोकन गर्न चाहनेहरुको लागि पनि ब्रुसबाङ गन्तव्य बन्न सक्ने सभासद पाण्डेको भनाइ छ ।

गाउँबाट देखिने मनमोहक दृष्यले ब्रुसबाङ पुग्ने जो कसैको मन पनि लोभ्याउने गर्छ । नजिकै रहेका जंगलहरुमा फागुन–चैत महिनामा ढकमक्क फुल्ने लालीगुराँसले पनि सबैको मन लोभ्याउँछ । यस ठाउँको मुख्य सौन्दर्य र आकर्षण भनेको सूर्योदय र लालिगुराँस र चेपाङ संस्कृति हो ।

ब्रुसबाङलाई पर्यटकीय क्षेत्र वनाउन गुरुयोजना तयार पार्दै नेपाल एकीकरण हुनुअघि ऐतिहासिक गढीका रुपमा चिनिएको कान्द्राङगढीको भग्नावशेषलाई पनि जोगाउन तत्काल कार्यक्रम ल्याइने पाण्डे बताउनुहुन्छ । कान्द्राङगढीसम्म मोटरमा जान सकिने भएकाले ब्रुसबाङलाई पर्यटकीय क्षेत्र बनाउन सकिने सभासद पाण्डेको भनाइ छ ।

कान्द्राङगढी र ब्रुसबाङको महत्व उजागर गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लैजान सकिने नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ बताउनुहुन्छ । प्रचारप्रसार मात्र नभई भौगोलिक विकटताका कारण पनि यो क्षेत्र पछि परेको उहाँको बुझाइ छ । कान्द्राङगढीसम्म अहिले सडक पुगेको भएपनि ब्रुसबाङ जाने बाटो उकालो र सांघुरो समेत भएकाले यहाँ जान केही कठिन भएकाले ब्रुसवाङ जाने बाटो मर्मत गर्न सके ब्रुसबाङलाई जिल्ला र राष्ट्रियस्तरमा चिनाउन सकिने चेपाङले बताउनुभययो ।

कान्द्राङगढीमा तत्कालिन बाइसे राज्यको सैन्य अखडा रहेको विश्वास गरिन्छ । यहाँ ढुंगाको भग्नावशेष पर्खाल र दुईवटा ठुला सुरुङहरु अहिले जिर्ण अवस्थामा रहेका छन् । ब्रुसबाङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पर्यटन लक्षित कार्यक्रमहरु ल्याएर यी ठाउँबाट पनि फाइदा उठाउन सकिने जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत विनोद अर्याल वतानुहुन्छ ।आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ प्रवेश गराउन स्थानीय स्तरबाट मात्र सम्भव नभएकाले जिल्ला र राष्ट्रियस्तर बाटै पहल गर्न आवश्यक रहेको उहाँको भनाइ छ । प्राकृतिक रुपले भरिपूर्ण हुँदाहुँदै पनि  कुनैपनि निकायले पहल नगरेका कारण यहाँ पर्यटक भित्र्याउन नसकिएको महादेवस्थान गाविसका पूर्व अध्यक्ष रामबहादुर रावल बताउनुहुन्छ । स्थानीय निकायको पहलमा सरकारले आगामी दिनमा पर्यटन केन्द्रित कार्यक्रम ल्याएर पर्यटकहरुलाई यहाँ लैजान सके पर्यटनबाट नै यो क्षेत्रको विकास गर्न सकिने उहाँको बुझाइ छ । सूर्योदय अवलोकनका लागि ब्रुसबाङ डाँडामा भ्युप्वाइन्ट निर्माण गर्न उहाँले माग गर्नुभयो ।