प्राधिकरणको लापरवाही, भुईमै नाङ्गो तार-१५ दिन देखि बस्ति अन्धकार

1454 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

thakre-1-768x538धादिङ,१० साउन : केही दिन यता धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी र जिल्लाको अन्य स्थानमा बिद्युत्त आपूर्ति अनियमित हुंदा उपभोक्ताहरु मारमा परेका छन ।
जिल्लाभर दिनमा पचास भन्दा धेरै पटक बिद्युत्त आपूर्ति वन्द हुने गरेको छ । छिन छिनमा बिद्युत्त रोकिंदा विजुलीबाट चल्ने उपकरणहरु चलाएर सानो तिना व्यवसाय देखि मझौला तथा अन्य ठुला व्यापार व्यवसायमा समेत असर पर्ने गरेको छ । बिद्युत्तको अनियमितताले नियमित काम गर्न नपाउँदा व्यापार व्यवसायमा नोक्सानी बढ्दै गएको नेत्रावती छापाखानाका व्यवस्थापक भरत अधिकारी वताउँछन ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ को माझिखेत,माझिलोसे, बराडाँडा लगायतका ४५ घर परिवारले साउन महिना लागे देखि घरमा विजुली वाल्न पाएका छैनन । गाउँमा बिद्युत्त लाईन विस्तार गरिएको काठको पोल भांचिएपछि मर्मतका लागि स्थानीयले गजुरी स्थित बिद्युत्त प्राधिकरणलाई खवर गरेका थिए । दश दिन अघि देखि प्राधिकरणले भांचिएको पोल फेर्नुको साटो गाउँतिर जाने विजुलीको लाईन काटिदिएर आपूर्तिनै वन्द गरिदिएको हो । गाउँमा विजुली गएको छैन,प्राधिकरणलाई भन्दा पोल नभएर मर्मत गर्न सकिएन भन्छ अझै कति दिन समस्या भोग्नु पर्ने हो स्थानीयको गुनासो छ ।
गाउँमा छाडेको लाइन वन्द गरेपनि माथिल्लो बस्ति तिर गएको मुख्य लाईन भने अहिले पनि चलिरहेको र चरा बस्दा पनि वेला बेलामा तारहरु एक आपसमा जोडिएर बिद्युत्त सर्ट भई घर घरमा जोडिएको मिटर बक्स देखि विजुलीको बल्व जल्नुका साथै बिद्युत्तिय उपकरणहरु समेत जल्ने गरेको स्थानीय शिववहादुर भण्डारीले वताउनु भयो ।
यसै गरी विद्युत अवरुद्ध हुँदा धादिङको नीलकण्ठ नगरपालिकाका बासिन्दा पनि अन्धकारमा बस्न बाध्य भएका छन । विद्युत लाइनको ट्रान्सफर्मर पड्केपछि सदरमुकाम नजिकैको बस्तिमा विद्युत सेवा अवरुद्ध हुन पुगेको हो ।
विद्युत सेवा अवरुद्ध भएपछि नीलकण्ठ नगरपालिका–९ का केहि गाउँहरु निगालपानी, चिप्लेटी र झगरे १५ दिनदेखि अन्धकारमय भएका छन् । त्यस्तै नीलकण्ठ–१२ को सेउली र आसपासका क्षेत्रमा पनि केहि दिनदेखि बिद्युत्त अवरुद्ध भएको स्थानीयले वताए ।
थाक्रे गाउँपालिका ११ मान्खु हल्थुममा विद्युत प्राधिकरणको लापरवाहिका कारण जुनसुकै बेला दुर्घटना हुने जोखिम बढेको छ । स्थानिय दलित बस्तिमा त्यो पनि घर नजिकै विद्युत प्रवाह भईरहेको नाङ्गो तार भुँई बाट करिब एक मिटर मात्र माथि हुँदा पनि विद्युत प्राधिकरणले उचित चासो नदिएको स्थानियहरुले बताए । “हाम्रो ज्यान जोखिममा छ, कुन बेला के हुन्छ थाहा छैन” स्थानिय दुर्गा परियारले भन्नुभयो “बालबालिका नाङ्गो तार भएको ठाउँमा जान्छन कि भनेर एक जना त उनिहरुलाई हेरेरै बस्नुपर्छ ।”
यस अघि उक्त नाङ्गो तारमा एक जना बच्चाले छुँदा घाईते भएको सोहि स्थानकी दिपा सुनार बताउनुहुन्छ । विद्युत प्राधिकरणलाई ४ देखि ५ ठाउँमा पोलको माग गरेपनि अहिले सम्म सुनुवाई नगरेकाले दिन रातै त्रासमा बस्नु पर्ने अवस्था आएको गाउँवासीको भनाई छ ।
विद्युत प्राधिकरण धार्के शाखाका प्रमुख मधु महर्जन भने यस बारेमा आफुलाई केहि थाहा नभएको बताउनुहुन्छ । “म यहाँ नयाँ हुँ, यस्तो समस्या छ भनेर त मलाई केहि थाहा थिएन ।” यस बारेमा थप बुझेर प्रक्रिया अघि बढाउने महर्जनले बताउनु भयो । यसैबिच सोहि क्षेत्रमा विद्युत प्राधिकरण धार्के अन्तर्गत काम गर्दै आएका अर्जुन गर्तौलाले लामो दुरीमा फलामको पोल भएको र पोल केहि ढल्किँदा तार जमिन भन्दा केहि माथी आएका स्विकार गर्नुभयो । फलामको पोल राख्न प्राधिकरणमा कुरा राखे पनि कार्यालयले रकम अभाव भएको भन्दै नयाँ पोल खरिद गर्न नसक्ने अवस्था रहेकाले काठको पोल जोहो गर्न गाउँवासीलाई निर्देशन दिएको छ ।