मनसुन कमजोर भएसँगै मौसममा क्रमिक सुधार

769 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

index काठमाडौ ३० साउन,। विगत पाँच दिनदेखि सक्रिय मनसुन सोमवार (आज)बाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पूर्वी भागको एक/दुई स्थान तथा पश्चिमका धेरै स्थानमा वर्षात् हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले तीनदिन देशभर भारी वर्षात् गराएको थियो । उक्त प्रणाली गएरातिदेखि नै कमजोर बन्दै गएको छ । यद्यपि, आज पनि काठमाडौ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षात् हुनेछ ।

अहिले देशको पूर्वी भेगमा सामान्य बदली छ भने पश्चिममा बदलीसँगै वर्षात् भइरहेको छ । काठमाडौमा अपराह्नतिर हल्का वर्षात् हुने जनाइएको छ । आइतबार पनि मनसुनी वर्षाको गतिविधि सक्रिय रहेकाले केही स्थानमा भारी वर्षात् भएको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी भैरहवामा २२२ मिलिमिटर वर्षात् भएको छ भने सबैभन्दा कम काठमाडौँमा तीन मिलिमिटर वर्षात् भएको छ । धनकुटामा पाँच, ताप्लेजुङमा सात, सिमरामा ३०, पोखरामा नौ, दाङ र जुम्लामा १०/१०, नेपालगञ्जमा १४, वीरेन्द्रनगरमा ३९ र धनगढीमा १६ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौ उपत्यकाको अधिकतम तापक्रम २६ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।