धादिङमा थपिए २६ हजार २ सय ६७ मतदाता

1558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20170811_133054धादिङ,१२ भदौ-प्रदेश एवं संघीय सभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटो सहितको मतदाता नामावली संकलनमा धादिङ जिल्लामा २६ हजार २ सय ६७ मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लामा एक लाख २ हजार ९ सय ६८ पुरुष, एक लाख ३ हजार ७६ महिला र १ जना तेस्रोलिङ्गी गरी कुल दुई लाख ६ हजार ४५ मतदाता रहेका थिए । अहिले थप भएका मतदाता हरुमा १२ हजार ७ सय ८ महिला र १३ हजार ५ सय ५९ पुरुष रहेका छन ।
आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय मार्फत गत साउन १ गतेदेखि जिल्लाको १३ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्य संचालन गरेको थियो ।
आगामी निर्वाचनका लागि फोटोसहित नामावली दर्ता गर्न साउन महिनामा १८ वर्ष उमेर पुगेका नागरिकको उत्साहपूर्वक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय, धादिङले जनाएको छ ।
सीमित साधनस्रोत र जनशक्तिबाट १३ वटा स्थानीय तहका कार्यालयमा फोटोसहितको नामावली तयार गर्न दैनिक १० देखि १४ सम्म घण्टा सेवा दिई नामावली संकलन गरिएको जिल्ला निर्वाचन अधिकृत इश्वर सिम्खडाले बताउनुभयो ।
तीन निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तह रहेको जिल्लामा साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको कार्यालयले जनाएको छ ।
नाम दर्ता गर्नेहरुमा अधिकांश बसाँई सरी आएका र विदेशबाट फर्किएका युवाहरु धेरै रहेका छन । नामावली संकलनसँगै नाम, ठेगाना, विवरण फरक परेका एवं आफ्नो नाम ठेगाना सच्याउने काम समेत भएको जिल्ला निर्वाचन अधिकृत सिम्खडाले जानकारी दिनु भयो ।

जिल्लाका २ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटै स्थानीय तहका कार्यालयबाट नामावली संकलन गरिएको थियो । जस अनुसार नीलकण्ठ नगरपालिकामा ७ हजार १ सय ३, थाक्रे गाउँपालिकामा ३ हजार १ सय २६, धुनीबेसी नगरपालिकामा २ हजार ६ सय ४८, गल्छी गाउँपालिकामा २ हजार १ सय ९२ मतदाता थपिएका छन ।
त्यसैगरी गजुरी गाउँपालिकामा १ हजार ८ सय २, बेनिघाट रोराङ गाउँपालिकामा १ हजार ७ सय ४४, सिद्धलेक गाउँपालिकामा १ हजार ६ सय, त्रिपुरासुन्दरी गाउँपालिकामा १ हजार ५ सय ४५, ज्वालामुखी गाउँपालिकामा १ हजार १ सय ८४, गंगाजमुना गाउँपालिकामा १ हजार ७८,खनियाबास गाउँपालिकामा ८ सय २४, नेत्रावती गाउँपलिकामा ७ सय ६०, रुवीभ्याली गाउँपालिकामा ६ सय ६१ र मतदाता थपिएको कार्यालयले जनाएको छ ।