धादिङमा ह्वात्तै बढे भाइरल ज्वरोका बिरामी

861 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1503906021dhading-finalधादिङ । केही दिनयता जिल्ला अस्पताल धादिङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।

अहिले जिल्ला अस्पताल धादिङमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ ।

लगातारको वर्षाका कारण पानीका मुहानमा भल पसेर फोहोरसमेत आउन थालेपछि आउँपर्ने र पेटका अरु समस्या देखापरेको हो ।

अत्याधिक गर्मीका कारण पनि भाइरल ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।यसैगरी, पानीकै कारण छालासम्बन्धी समस्यासमेत देखापरेको चिकित्सकले बताएका छन् ।दैनिक अस्पतालमा आउने बिरामीमा १५ देखि २० प्रतिशत बालबालिका छन् ।

अस्पताल आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । अस्पतालका अनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरबाट चार पाँच जना बिरामी उपचारका लागि अस्पताल आउने गरेको र वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरल ज्वरोको प्रकोप बढेको हुनसक्ने उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाई छ । यसबाट बच्न दूषित खानेपानी प्रयोग नगर्न र कुनै कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन चिकित्सकहरुको सुझाव छ ।

 अस्पतालमा अहिले वैकल्पिक शैय्याको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । गाउँ/गाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन जिल्ला स्वास्थ्य कार्यालयले  निर्देशन दिएको छ ।

जिल्ला अस्पतालमा मात्रै होइन, गाउँ गाउँमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, निजी अस्पताल.,क्लिनिक र  औषधि पसलहरुमा समेत भाइरल ज्वरोका बिरामीको संख्या बढेको जनाएको छ ।