धादिङका ६ गाउँपालिका अझै बैंकविहीन

3171 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लाका तेह्र स्थानीयतह मध्ये छ वटा  गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाको रुवीभ्याली, खनियाबास, नेत्रावती, गंगाजमुना, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा कुनै पनि बैंकका शाखा छैनन् ।जिल्लाकै त्रिपुरासुन्दरी गाउँपालिकामा भने निजी क्षेत्रको विकास बैकको एकमात्र शाखा  सञ्चालनमा रहेको छ । यसबाट सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या परेको छ । स्थानीय तहको सञ्चित खाता बाणिज्य बैंकमा मात्रै खोल्न पाइने व्यवस्था छ ।  सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गर्न नसक्दा  स्थानीय तहले आर्थिक गतिबिधी गर्न सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता भएको हो  । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत बैकिङ कारोबारका लागि सदरमुकामनै धाउनुपर्ने बाध्यतामा यहाँका सर्वसाधरण र सरकारी कर्मचारी परेका छन ।
Nepal-Rastra-Bank-59b75a1c22d5d8.89465577जिल्लाको सबैभन्दा विकटमा रहेको रुवीभ्याली गाउँपालिकाबाट बैंकको कामकै लागि सदरमुकाम आएर गाउँ फर्कदा कम्तिमा चार दिन लाग्ने रुवीभ्यालीका वडाअध्यक्ष मेन घले वताउनुहुन्छ । ‘गाउँमा मात्रै होइन छिमेकी गाउँपालिकामा समेत कुनै बैंकको शाखा छैनन। त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता रहेको वडाअध्यक्ष घलेको भनाई छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले वृद्धभत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । तर, हाल सबै स्थानमा बैंक नपुगेकाले स्थानीयले समयमै भुक्तानी पाउन सकेका छैनन् ।
सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको भएपनि यो निर्देशन लागु हुन सकेको छैन । जिल्ला सदरमुकाम रहेको धादिङबेसीमा दुई सरकारी सहित एक दर्जन भन्दा बढी निजी क्षेत्रका बैकहरु सञ्चालनमा रहेको छ । त्यसै गरी धुनिवेसी नगरपालिकाको खानीखोला र धार्के, थांक्रे गाउँपालिकाको महादेवबेसी,गल्छीको गल्छी र बैरेनीवजार, गजुरीको आदमघाट र गजुरीवजार, वेनिघाट रोराङको मलेखु र वेनिघाटमा विभिन्न बैकका शाखा सञ्चालनमा रहेको भएपनि  राजमार्गमै केन्द्रित हुन पुगेका छन ।

  जिल्लाको विकटका वस्तिमा मात्रै होइन सदरमुकाम संगै रहेको सिद्धलेक र ज्वालामुखी गाउँपालिकामा समेत बैकको शाखा पुग्न सकेको छैन ।
सरकारले स्थानीय तहमा जाने सबै बजेट गाउँपालिकाको खातामा पठाएको छ । स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ। यसले गर्दा तलब निकासा गर्नसमेत झन्झट भएको गंगाजमुना गाउँपालिकाको बद्रिविशाल माविका प्रधानाध्यापक चुडा अधिकारी वताउनुहुन्छ । यस अघि बिद्यालयको पत्र लिएर जिल्ला शिक्षा कार्यालय गएपछि त्यहिँबाट तलव र अन्य निकासा सदरमुकामकै राष्ट्रिय वाणिज्य बैकमा जान्थ्यो, अहिले त सबै प्रक्रिया गाउँमा मिलाउनुपर्छ, पैसा निकाल्न भने सदरमुकाम पुग्नु पर्छ । पहिलेभन्दा अहिले झनै समस्या भएको शिक्षकहरुको भनाई छ ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर जाने गरेका छन । बैंक नभएकाले आर्थिक कारोबार गर्न निकै कठिनाइ भएको नेत्रावती गाउँपालिकाका प्रमुख नारायण शाक्य वताउनुहुन्छ । साविकको कटुञ्जे गाविसमा रहने गरी संचालनमा रहेको कृषि विकास बैकको कटुञ्जे शाखा सदरमुकामबाटै चलिरहेको दुई दशक भईसकेको छ । शुरुमा द्धन्द्धको कारण देखाएर सदरमुकामकमा बसेको बैक अहिले गाउँ फर्कनै मान्दैनन गाउँपालिका प्रमुख शाक्यले वताउनु भयो । गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि जिल्लामै रहनु पर्ने वाध्यता हुन थालेपछि गाउँका सेवाग्राहीलाई असुविधा भएको छ ।
सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो । अहिले सदरमुकाम धादिङबेसी र राजमार्ग क्षेत्रमा सरकारी तथा निजी क्षेत्रका गरि दुई दर्जन भन्दा बढि बैकहरुले सेवा दिइरहेका छन् । जिल्लामा सरकारी बैक राष्ट्रिय वाणिज्य बैक र कृषि विकास बैक मात्रै छन भने निजी क्षेत्रका बैकहरुको संख्या धेरै रहेको छ । सरकारको निर्देशनपछि धादिङका गाउँपालिकाहरुमा शाखा खोल्न निजी बैंकहरूले चासो देखाएपनि सुरक्षाको प्रत्याभुति हुन नसक्दा जिल्लाको रुवीभ्याली,खनियाबास, नेत्रावती र गंगाजमुना गाउँपालिकामा बैकहरु जान नसकिरहेको उनिहरुको भनाई छ ।राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालका अनुसार  सडक, सुरक्षा, इन्टरनेट र बजार नभएसम्म बैंकहरुको शाखा विस्तार गर्न सकिने अवस्था छैन । ‘सरकारी कार्यालय खोल्न जति सजिलो हुन्न बैंकको शाखा खोल्न, त्यहाँ सडक, सुरक्षा, इन्टरनेट र बजार हुनु अनिवार्य छ ।
अधिकांश गाउँपालिकाको केन्द्रमा भौगोलिक विकटता, सञ्चारको असुविधा जस्ता कारणले पनि तत्कालै गाउँमा बैंक सञ्चालनमा समस्या रहेको बैकका कर्मचारीहरु बताउँन । ‘पहिले सुरक्षा त्यसपछि सञ्चार र इन्टरनेटको पहुँच हुनुपर्छ। अनि सडक, बिजुली, सुरक्षालगायत आधारभूत पूर्वाधार पनि आवश्यक पर्छ यति भयो भने बैकहरु गाउँ गाउँमा जान सक्ने ति कर्मचारीको भनाई छ ।