धादिङमा तीन जनालाई डेँगुको संक्रमण

705 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dengue-Fever-agencyधादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म तीन जनामा डेँगुको संक्रमण भएको भेटिएको हो ।
चिकित्सकहरुका अनुसार जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका दुई जना बिरामीको उपचारका क्रममा रगत परीक्षण गर्दा उनीहरुमा यो रोग देखा परेको हो ।
शनिबार उपचारका लागि अस्पताल पुगेका एक महिला र एक पुरुषको परीक्षणका क्रममा डेँगु देखापरेको थियोे । दुवै बिरामी अन्दाजी १८ वर्षका छन् । उनीहरु धादिङको अलग–अलग स्थानबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल आएको चिकित्सकहरुले बताएका छन् ।
डेँगु रोग देखापरेपछि उनीहरुलाई काठमाडौँस्थित शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाइएको छ । अहिले उनीहरुको अवस्था सामान्य रहेको छ । दुई हप्ताअगाडि पनि जिल्ला स्वास्थ्य कार्यालय धादिङमा कार्यरत एक महिलालाई पनि यो रोग देखापरेको जिल्ला अस्पताल धादिङका डा दीपा बोहराले जानकारी दिइन् ।
डेँगु एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यस रोगबाट बच्नका लागि घर टोल सफा राख्ने र फोहर पानीहरु जम्न नदिनेजस्ता सावधानीका उपायहरु अवलम्बन गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ ।