कलिलै उमेरमा आमा बन्छन् चेपाङ युवती

1475 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC09618धादिङ, – धादिङको दक्षिणी भेगमा पर्ने  ब्रुसबाङकी सिरमाया चेपाङ अहिले १३ बर्षकी पुगिन । उनको विवाह भएको १ वर्ष बितिसकेको छ । सिरमायाको विवाह दुईबर्ष अघि बु्रसबाङ गाउँकै १६ वर्षका भीमबहादुर चेपाङसँग भएको हो । बु्रसबाङकै सानी चेपाङ पनि अहिले १६ बर्षकी भईन उनको काखमा अहिले ८ महिनाको छोरा छ । १४ वर्षमा विवाह गरेकी सानीले एक वर्ष नवित्दै छोरा जन्माएकि हुन ।
धादिङको दक्षिणी भेगमा पर्ने १० वटा गाविसमा चेपाङजातीको बसोबास छ । अधिकांश चेपाङ बस्तिमा उमेर नपुगी विवाह गर्ने चलन अहिले पनि कायमै छ । कानुनले विहे गर्ने उमेर स्पष्ट तोकेको भएपनि नेपालका कतिपय गाउँवस्तिमा चेतनाको अभावले अझैपनि सानै उमेरका बालबालिकाको विहे हुने गर्दछ । तीन बर्ष  अघि जोगिमारा गाविसको घुसराङका १० वर्षिया प्रमिला चेपाङको १२ वर्षिय सोमबहादुर चेपाङसँग विवाह भयो । सोमवहादुर र प्रमिलाको विहे भएकै दिन १५ वर्षिय बु्धलाल र १४ वर्षिया मुना चेपाङको पनि विहे भयो ।
DSC02451 तीन  वर्ष  अघिको यो घटना गाउँबाट प्रहरी कार्यालय हुँदै जिल्ला अदालतसम्म पुग्यो, गैर चेपाङहरुले घटनालाई बाहिर ल्याईदिँदा वालविवाह गराईदिएको अभियोगमा थुनामा परेका उनिहरुका अभिभावकलाई अदालतले जरिवाना गराएर थुनामुक्त गराइदियो । पहिलो पटक चेपाङ वालविबाहको मुद्धा अदालतसम्म आएकाले आउँदो दिनमा धेरैले चेपाङबस्तिमा बालविवाहको प्रथा रोकिने अपेक्षा गरेको भएपनि वालविवाह रोकिएन झनै गुपचुप बिहे हुने क्रम बढ्न थालेको छ ।     गरिवी, अशिक्षा र  चेतनाको अभावका कारण चेपाङ किशोरीहरु १५ वर्ष नपुग्दै विवाह गर्न बाध्य हुने गरेका छन् । सरकारी तथा गैर सरकारी निकायले विहेबारी २० वर्ष पारी भन्ने अभियान गाउँ–गाउँमा सञ्चालन गरेको भएपनि चेपाङ जातिमा यो अभियानले प्रभाव पार्न सकेको छैन । छोराछोरीप्रति अभिभावकहरुले दायित्वबोध नगरेकै कारण सानै उमेरमा  बिहे गर्ने प्रचलन बढिरहेको छ । जोगिमारा स्वास्थ्य चौकीका प्रमुख रमेश अर्यालका अनुसार धेरैजसो चेपाङ युवती गर्भवती चेकजाँचको लागि स्वास्थ्य संस्था आउनै मान्दैनन्, स्वास्थ्य चौकी आएका अधिकांश चेपाङ महिलाहरुपनि उमेर नपुगी गर्भवती भएको पाइन्छ ।
यसरी उमेर नपुगी गर्भवती भएका महिलाहरुलाई सानै उमेरमा बच्चा जन्माउँदा आमा र बच्चालाई हुने खतराबारे पटक पटक सचेत गराएपनि चेपाङ समुदायमा सानै उमेरमा विहे गर्ने र बच्चा जन्माउने चलन नरोकिएको अर्याल बताउंछन ।
जनचेतनाको अभावले अहिले पनि ५० प्रतिशतभन्दा बढी चेपाङ किशोरीहरु बालविवाहको सिकार बन्नु परेको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा ६८ हजार ६ सय ९९ चेपाङ रहेका छन । ती मध्ये धादिङ जिल्लामा भने १० वटा गाविसमा झण्डै १८ हजार चेपाङहरु रहेका छन् ।