घाटवेशी दुर्घटना: ३० को शव बुझाइयो, तीन बेपत्ता

1192 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

22788857_2030178540548864_1868561991104124260_nधादिङः शनिवार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटवेशीस्थित बाङ्गेमोडमा भएको बस दुर्घटनाका मृतकहरुमध्ये ३० जनाको शव आफन्तलाई बुझाइएको छ। सप्तरीबाट आएका आफन्तहरुले शवको सनाखत गरेपछि पोष्टमार्टम पश्चात अन्तिम संस्कारको लागि आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएका अन्दाजी ३०÷३२ वर्षका आकाशे नीलो रंगको सर्ट, एनेकपा माओवादी लेखिएको टिसर्ट र आर्मी कलरको हापकट्टु लगाएका पुरुषको भने सनाखत हुन सकेको छैन । शवलाइ गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको अन्नपूर्ण पोष्ट डट कममा  खबर छ ।

गजुरी प्रहरीमा ३ जना हराइरहेको भन्दै खोजीका लागि आफन्तले निवदेन दिएकाले बेपत्ताहरुको पनि खोजी कार्य जारी राखिएको प्रहरी निरीक्षक सिंहले बताए। उनले भने, ‘आज पनि हामीले घटनास्थलमा गएर खोजी कार्य गर्यौँ, नदीमा डुवेका अझै कोही बाँकी छन् कि भनेर पनि सर्च गरेका छौ । कोही फेला परेका छैनन्।’

बेपत्ताहरुको खोजीको लागि नदीमा बगेको आशंकामा पृथ्वीराजमार्गमा रहेका सबै प्रहरी युनिटलाई खवर गरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख ध्रुवराज राउतले बताए।

३१ जनाको मृत्यु र १६ जना घाइते हुने गरी बस दुर्घटना हुँदासमेत बसका साहु र चालक भने सम्पर्कविहीन छन्। ना ६ ख १४६७ नम्वरको सन्देश डिलक्स नामको बस दुर्घटना भएपनि अहिलेसम्म चालक स्थानीय प्रशासनको सम्पर्कमा आएका छैनन्। दुर्घटनाका घाइतेहरुले चालक भागेको आशंका गरेपनि उनी नदीमै बेपत्ता छन् या दुर्घटनापछि फरार छन् भन्ने नखुलेको गजुरी प्रहरीले जनाएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले यातायात समिति र साहुलाई सम्पर्कका ल्याउने प्रयास भइरहेको जनाएका छन्। उनले भने, ‘दुर्घटनापछिको विमा क्षतिपूर्ति, घाइतेहरुको उपचारका लागि हामी पहल गर्नेछौँ।’

अधिकाँश सप्तरी जिल्लाका यात्रुहरु बोकेर हैटोडाबाट काठमाण्डौ जाँदै गरेको बस शनिवार विहान साढे ५ बजेतिर त्रिशुली नदीमा डुब्दा ३१ जनाको मृत्यु भएको थियो भने १६ जना यात्रुहरु पौडेर ज्यान बचाउन सफल भएका थिए।