धादिङको हाइवेमा गुरुजीलाई ट्राफिकको पाठ

1471 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 

हवल्दार गोविन्द सापकोटा जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङमा कार्यरत छन् । सापकोटाको नियमित दैनिकी पृथ्वी राजमार्गमा चल्ने हजारौं गाडीको ट्राफिक व्यवस्थापन गर्नु हो । तर, गत १२ कात्तिकदेखि सापकोटाको दैनिकी केही फेरिएको छ । मझिमटारमा खटिएका सापकोटाले अहिले दैनिक सयौं गाडी चालकलाई ट्राफिक सचेतना दिन्छन् ।

चाडवाडलाई लक्षित गरेर मात्र कहिलेकाहीँ सञ्चालन हुने गरेको ट्राफिक सचेतना कक्षा अहिले नियमित गर्न थालिएको छ । धादिङको मझिमटार र खानीखोलामा टिनको छाप्रोमुनि खोलिएका कक्षामा चालकलाई ५ मिनेटजति राखेर जानकारीमुलक शिक्षा दिन सुरु गरिएको छ । ‘के गर्ने ? यो बाध्यात्मक बनिसक्यो । गुरुजीहरुको सानो गल्तीले ३५–४० जनाको ज्यान तत्काल जोखिममा पर्न सक्छ । त्यसैले, हामीले उहाँहरुलाई ट्राफिक सचेतना कक्षा संचालन गरेका हौं’, सापकोटा भन्छन् ‘यो छोटो कक्षा संचालनमार्फत् गुरुजीहरुलाई आफ्नो दायित्व सम्झाउन खोजेका छौं ।’

ट्राफिक सचेतना कक्षामा चालकलाई १० वटा विषेश बुँदामा प्रतिज्ञा गर्न लगाइन्छ :
मादक पदार्थ सेवन गरेर सवारी कहिल्यै चलाउँदिनँ ।
मोबाइल फोन चलाउँदै गाडी हाँक्दिनँ ।
तिब्र गति र जहाँ पायो त्यहिँबाट उछिन्नका लागि जथाभावि कुदाउने छैन ।
क्षमताभन्दा बढी यात्री र सामान बोक्दिनँ ।
सवारी ऐन नियम र ट्राफिक संकेतको पालना गर्दछु ।
तनाव र अस्वस्थ अवस्थामा सवारी चलाउँदिनँ ।
सवारी रोक्दा स्टेण्ड, बिसौनी र सडकछेउमा मात्र रोक्दछु ।
नियमित रुपमा मेरो सवारी साधनको मर्मतसम्भार गर्नेछु ।
तोकिएको भाडादरभन्दा बढी भाडा कसैसँग लिने छैन ।
महिला तथा बालबालिका, असहाय र वृद्धवृद्धाहरुलाई सदा विश्वकर्मा बाबा साक्षी राखी माथिका नियम पालना गर्दै श्रद्धा र सम्मान गर्दछ ।

त्यसो त, दैनिक हजारौं गाडी गुड्ने पृथ्वी राजमार्गको देशकै सबैभन्दा धेरै व्यस्त हुने सडक हो । राजधानी काठमाडौं भित्रिनेमध्ये ७० प्रतिशत गाडी यही राजमार्गहुँदै ओहोरदोहोर गर्छन् । राजमार्गको धादिङ खण्डमा ‘ब्ल्याक स्पट’हरु धेरै छन्, जहाँ अत्याधिक दुर्घटना हुन्छन् । धादिङमा कात्तिक महिनामा मात्र सडक दुर्घटनामा ३८ जनाको ज्यान गैसकेको छ । असोजमा ५ जना, भदौमा ५ जनाको मृत्यु भएको थियो भने साउनमा १० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा ९० जनाको मृत्यु भएको तथ्यांक जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीसँग छ । २०७२/७३ मा ६१ जना र २०७१/७२ मा ७० जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दियो ।

केही दिनअघि मात्र सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको गाडी बिहान झिसमिसेमै गजुरीनजिक दुर्घटनामा पर्यो । जहाँ ३३ जना यात्रुको ज्यान गयो । दुर्घटना किन यति धेरै हुनेगर्छ ? कमजोर सडक, चालकको लापरवाही र सडक सुधारमा सरकारी व्यवस्थापन गतिलो नहुँदा दुर्घटना बढी छ । अप्ठेरो बाटोमा कसरी चलाउने भन्नेबारे चालकलाई जति ज्ञान अरुलाई हुनै सक्दैन । तर, चालकले गर्ने हेलचक्र्याईंले उसको भरमा रहेका सबै यात्रुको जीवन जोखिममा पर्ने गर्छ । सप्तरी दुर्घटना पनि चालकको लापरवाहीकै कारणले भएको ट्राफिक प्रहरीले बताइसकेको छ ।

विषेशगरी ओभरस्पिड, बाटोमा ‘जिकज्याक’ ढंगले चलाउने, जथाभावी ओभरट्याक गर्ने, घुम्तीमा मोडमा पुलमा समेत ओभरट्याक गर्नेजस्ता कारण सडक दुर्घटना बढी हुने गरेको छ । गाडी धेरै भए, बाटो सानो भयो । त्यही सानो बाटोमा चालकले गर्ने लापरवाहीले दुर्घटना निम्तिरहेको छ । ट्राफिक हवल्दार सापकोटाको बुझाइमा गुरुजीहरुले ओभरट्याक गरेको हुँदा दुर्घटना बढिरहेको छ । यसकारण उनले मझिमटारस्थित ट्राफिक सचेतना केन्द्रमा घाँटी सुकाई–सुकाई चर्को स्वरमा जस्ताको छाप्रोभित्र मुढामा चालकहरुलाई राखेर दुर्घटनाका तस्बिर देखाउँदै त्यस्तै घटना नदोहोर्याउन आग्रह गरिरहन्छन् ।

‘तपाईंहरुलाई यहाँ राखेर सचेतना दिनका लागि हामी खटिएको हो । ओभरस्पिड चलाईदिनुभएन, आफ्नो स्पिड कति हो, कन्ट्रोल गर्न सक्ने हो कि होइन, त्यसआधारमा गाडी चलाइदिनु पर्यो । घुम्तीमा, मोडमा, पुलमा ओभर ट्याक गर्दिनुभएन, कुरो बुझ्नु भो । हाम्रा पनि कमजोरी केही छन् भने भन्नुस् हामी सुधार्छौं ।’

हवल्दार सापकोटा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले पछिल्लो पटक बनाएको सडक सुरक्षा योजना कार्यान्वयन गर्ने एक पात्र मात्र हुन् । २४ जना दरवन्दी रहेको ट्राफिक कार्यालयले चितवनसीमादेखि नागढुंगासम्मको ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । सडक साँघुरो छ । घुम्ती अत्याधिक बढी छ । ओभरलोडेड ट्रक र ट्रिपरका कारण राजमार्गको आयु दैनिक घट्दो छ । सडकमा खाल्डाखुल्डी धेरै छन् । सडक जिकज्याक छ । यस्तो अवस्थामा गाडी चालकको लापरवाही सबैभन्दा घातक हुन्छ ।

ग १ ख २७६८ नं.को माइक्रोका चालक लक्ष्मण परियार तनहुँको भिमाददेखि काठमाडौं नियमित माइक्रो चलाउँछन् । चालक परियारले सात वर्ष भयो माइक्रो चलाउन थालेको । यो बीचमा उनले धेरै दुर्घटना देखेका छन् । उनी भन्छन्, ‘दुर्घटना बढ्नुमा लापरवाहीपूर्वक चलाउने चालक त दोषी छन् नै, त्यो भन्दा बढी सरकार दोषी छ ।’ उनका अनुसार सडक नै राम्रो छैन, सडकमा खाल्डाखुल्डी धेरै छन्, त्यसैले चालकले गाडी बढी नै जिकज्याक चलाउनुपरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले सडक सुरक्षाका लागि काम गरेको दाबी गरेको छ । नियमित रुपमा स्थानीय विद्यालयहरुमा गएर विद्यार्थीलाई ट्राफिक शिक्षा दिने गरेको बताउँछन् ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान नवराज सापकोटा । अहिले विद्यार्थी स्वयंले आफ्ना अभिभावकलाई समेत बाटो काट्न सिकाउने गरेका छन् । पहिलाजस्तो सडकमा हिँड्ने यात्रुलाई ठक्कर दिएर मृत्यु भएको घटनामा निकै कमी आएको सापकोटा दाबी गर्छन् ।

तर, सडकमा गाडी पल्टिनु र ठक्कर खानुको मुख्य दोषी भने घुमिफिरि चालक नै हुन् । चालकले सचेत भएर गाडी चलाए दुर्घटनाको पारो घट्छ । यसका लागि राजमार्गमा  चल्ने गाडीमा अनुभवी चालक राख्नु नै सबैभन्दा बुद्धिमानी हुनजान्छ ।