धादिङको चुनावी माहौल बाम गठबन्धन बलियो बन्दै

2645 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

23231092_1474024809382057_4205574246257407232_nधादिङ,२२ कात्तिक – पहिलो चरणमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाका ३७–७४ सिटमध्ये धादिङ जिल्लामा २ प्रतिनिधि सभा तथा ४ प्रदेश सभाका गरी ६ जना चुनिँदैछन् । जिल्लामा दुई लाख ३३ हजार ५०५ जना मतदाता रहेको छ ।
धादिङ जिल्ला पछिल्लो समय एमालेको लालकिल्ला रहेको क्षेत्र भनी चिनिने गरेको छ । पहिलो संविधानसभाको निर्वाचनमा साविकका ३ वटै क्षेत्रमा माओवादीले जितेको यस जिल्लामा दोस्रो संविधानसभाको निर्वाचनमा ३ वटै क्षेत्रमा एमालेका प्रतिनिधिहरुले जितेका थिए । गत स्थानीय तहको निर्वाचनमा समेत २ नगरपालिका र ११ गाउँपालिका रहेको यस जिल्लामा १ नगरपालिका र २ गाउँपालिकामा काँग्रेसको नेतृत्व रहेको थियो भने माओवादी र राप्रपाले १÷१ गाउँपालिकामा नेतृत्व जितेका थिए । बाँकी ८ वटा स्थानीय तहमा नेकपा एमालेले नै जित हासिल गरेको थियो ।
23316509_1623989640995003_4643416176710948149_nएमालेले एक्लै चुनाव लडेको थियो भने अन्य पाटीले जितेका ५ मध्ये पनि ३ वटामा काँग्रेस माओवादी गठबन्धन रहेको थियो । स्थानीय निर्वाचनको आँकडा अनुसार हेर्दा धादिङ जिल्लामा वाम गठबन्धनको कूल मत १ लाख ६ हजार बढी छ भने राप्रपासहितको काँग्रेसको मत ६३ हजार हाराहारीमा छ ।
जिल्लाका २ वटै प्रतिनिधि सभा सदस्य तथा ४ वटै प्रदेश सभा सदस्यमा वाम गठबन्धनको पकड रहने सहज अनुमान गरिएको छ तर लोकतान्त्रिक गठवन्धनले आंफुहरु पनि वलियो भएर अघि बढेको दावी गरेको छ ।
bhumi-tripathiधादिङ जिल्लाको दक्षिणी क्षेत्र अर्थात हालको क्षेत्र नंम्बर १ मा नेपाली काँग्रेस निकै कमजोर मानिन्छ । २ वटै संविधान सभाको निर्वाचनमा तेस्रो पार्टी बन्न पुगेको साविकको क्षेत्र नं ३ मा साविकको क्षेत्र नं २ का ६ वटा गाविस थपेर हालको क्षेत्र नं १ कायम गरिएको छ । थपिएका ६ वटा गाविसहरु पनि एमालेकै पकड क्षेत्र रहेकाले धादिङको क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवारहरुले विपक्षिसँग भारी मत अन्तरले चुनाव जित्ने अनुमान गरिएको छ । वाम गठबन्धनबाट धादिङ क्षेत्र नम्बर १ का लागि प्रतिनिधि सभातर्फ नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका भूमिप्रसाद त्रिपाठी उम्मेदवार रहेका छन् भने प्रदेश सभातर्फ एमाले पोलिटब्युरो सदस्य समेत रहेका राजेन्द्रप्रसाद पाण्डे तथा माओवादी केन्द्रका मजदुर नेता शालिकराम जमरकट्टेल उम्मेदवार रहेका छन् । राप्रपाको समर्थनमा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभातर्फ विश्व अर्याल तथा प्रदेशसभा तर्फ मदुुकुमार श्रेष्ठ र प्रभातकिरण सुवेदी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा राप्रपा निकै कमजोर अवस्थामा रहेको छ ।
23434792_1623989467661687_8442702082472955127_nक्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार निकै बलियो देखिए पनि क्षेत्र नम्बर २ मा भने प्रतिस्पर्धा निकै रोचक रहेको छ । क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ एमालेका केन्द्रिय सदस्य समेत रहेका खेमप्रसाद लोहनी तथा नेपाली काँग्रेसका तर्फबाट वर्तमान सरकारका कानुन राज्यमन्त्रीसमेत रहेका दिलमान पाख्रिन प्रतिस्पर्धामा छन् । यस्तै जिल्ला सदरमुकाम समेटिएको प्रदेशतर्फ नेकपा एमालेका तर्फबाट डाक्टर रामकुमार अधिकारी तथा नेपाली काँग्रेसका तर्फबाट रमेश धमला प्रतिस्पर्धामा उत्रिएका छन् । डा.अधिकारी एमालेका राष्ट्रिय प्रतिनिधि परिषदका पुर्व सदस्य हुन भने धमला नेपाली काँग्रेसका जिल्ला सभापति हुन् । उत्तरी भेगको पहाडी क्षेत्र समेटिएको दोस्रो प्रदेशमा भने वाम गठबन्धनका तर्फबाट माओवादीका मजदुर नेता जगत सिम्खडा तथा लोकतान्त्रिक समूहका तर्फबाट राप्रपाका डम्बर तामाङ उम्मेदवार बनेका छन् । तामाङ राप्रपाका नेता एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङका भाई हुन ।
साविकको क्षेत्र नम्बर २ बाट २०५६ सालको संसदीय निर्वाचनमा काँग्रेसका रामनाथ अधिकारी निर्वाचित भएबाहेक नेपाली काँग्रेसले प्रत्यक्ष सांसद् पाउन सकेको छैन । अहिलेको आम निर्वाचनमा वाम गठबन्धन नै बनेकाले काँग्रेसी उम्मेदवारहरुलाई वाम गढ तोड्नु फलामको चिउरा चपाउनुजस्तै गाह्रो छ ।
अघिल्लो संविधानसभाको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा निर्वाचन क्षेत्रमा निकै फेरबदल भएको छ भने साविकको क्षेत्र नम्बर २ बाट एमालेको एकलौटी पकड क्षेत्र मानिएको कुम्पुर, कल्लेरी, केवलपुर, गोगनपानी, नलाङ र सलाङ हालको क्षेत्र नम्बर १ मा गाभिएकाले बाँकी क्षेत्रमा नेपाली काँग्रेसकै पकड बलियो रहेको देखिन्छ र यसले नेपाली काँग्रेसका उम्मेदवारलाई केही सहज हुने लोकतान्त्रिक समूहको दावी छ ।
धादिङ क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका उम्मेदवारका रुपमा ब्राह्मण समुदायका खेमप्रसाद लोहनी तथा तामाङ समुदायका दिलमान पाख्रिन प्रतिस्पर्धामा छन् । खासगरी ब्राह्मण तथा क्षेत्री समुदायका जनताहरुले साम्प्रदायिकताका आधारमा मत नदिने तर तामाङ समुदायमा त्यस्तो मान्यता बढी रहने भएकाले तामाङ समुदायको एकछत्र वासस्थान रहेको उत्तरी क्षेत्रमा पर्ने सेर्तुङ, तिप्लिङ, लापा, झार्लाङ, रि, दार्खा, सत्यदेवी, सेमजोङजस्ता गाविसको मत काँग्रेस उम्मेदवार पाख्रिनले पाउने सम्भावना रहेकाले पनि वाम उम्मेदवार लोहनीलाई भन्दा लोकतान्त्रिक समूहका दिलमान पाख्रिनलाई चुनाव जित्न सजिलो हुने नेपाली काँग्रेसका उपाध्यक्ष भक्त लामा बताउनुहुन्छ ।
दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसको टिकट वितरणमा देखिएको चरम विवाद र त्यसले सिर्जना गराएको बागी समस्याका कारण क्षेत्र नम्बर १ मा काँग्रेसले सिट गुमाएको थियो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदासम्म स्थानीय नेता फणिकान्त छत्कुलीलाई टिकट दिइएकोमा एकाएक तिलक रुवालीका नाममा टिकट सरेपछि छत्कुलीले खुलेरै काँग्रेसलाई असहयोग गरेका थिए र सोही कारण एमालेका धनबहादुर घलेले सांसद् बन्ने मौका पाएका थिए तर अहिले त्यस्तो विवाद नरहेकाले एमाले उम्मेदवार लोहनीलाई सहज सांसद् बन्ने बाटो खुल्ला नरहेको काँग्रेसका जिल्ला नेताहरु बताउँछन ।
गत स्थानीय तहको निर्वाचनमा एक्लै उठेर  रुवीभ्याली गाउँपालिकाको प्रमुखमा विजयी हुन सफल भएको राप्रपाको समर्थन अहिलेको चुनावमा नेपाली काँग्रेसका दिलमान पाख्रिनलाई रहेको छ । राप्रपाका नेता बुद्धिमान तामाङको गृह क्षेत्र रहेकाले सो क्षेत्रमा राप्रपाको पनि उल्लेख्य मत रहेको राप्रपाको दावी छ ।