निर्वाचनलाई लक्षित गर्दै धादिङमा सुरक्षा सर्तकता

572 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

23795470_10214220695528775_4247053229047276861_nधादिङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुन अब केही घण्टामात्रै बाँकी छ । यही मंसिर १० गते दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लक्षित गरी धादिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताए । जिल्लाका कुल १ सय ९ मतदानस्थलमध्ये अतिसंवेदनशील र संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए ।
मतदानस्थलमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थलमा विशेष सुरक्षा संयन्त्र बनाई सुरक्षाको व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार निर्वाचन अवधिभर पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो बीचको घेरामा सशस्त्र प्रहरी र तेस्रो बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने छ ।
निर्वाचन पूर्वको सुरक्षा, निर्वाचन अवधिको सुरक्षा र निर्वाचनपछिको सुरक्षा गरी तीन चरणको सुरक्षा तयारी गरी कार्यान्वयनमा लगिसकिएको भण्डारीले बताए । गृहमन्त्रालयले सुरक्षा कमजोरी देखिए तत्काल त्यसलाई सच्याउँदै संवेदनशीलताको आधारमा जिल्ला र मतदान केन्द्रका लागि आवश्यक सुरक्षा रणनीति बनाएको छ । यस्तै यातायात व्यवसायीहरुसँग पनि समन्वय गरेर सुरक्षा व्यवस्था अझ मजबुत बनाउने काम भइरहेको उनले बताए ।
यस्तै जिल्लामा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पार्न जिल्लाको सम्पूर्ण मतदानस्थललार्ई वर्गीकरण गरी सोहीअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटाइनेछ । जिल्लामा प्रत्येक मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरेर १५ देखि १७ जना सम्म सुरक्षाकर्मी खटाइने प्रहरी उपरीक्षक धु्रवराज राउतले जानकारी दिए ।
निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले मोवाईल स्ट्रायकिङ सेवा संचालन गर्ने छ । जिल्लामा रहेका १३ वटा पालिकाहरुमा २८ वटा मोवाईल परिचालन गरिनेछ । जिल्लामा निर्वाचनका लागि १ सय ९ मतदान स्थलमा २ सय ७५ मतदान केन्द्र कायम गरिएको छ ।
धादिङमा निर्वाचनका लागि १ लाख१७ हजार ७ सय ८ जना पुरुष, १ लाख १५ हजार ७ सय ९६ जना महिला र १ जना तेस्रोलिङ्गी गरी २ लाख ३३ हजार ४ सय ७५ जना मतदाता रहेका छन् ।