उम्मेदवार पुरुष, मतदाता महिला : २७ जिल्लामा महिलाको मत बढी

584 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित वागेश्वरी मावि मतदान केन्द्रमा मंसिर १० गते मतदानका लागि लाईनमा उभिएका महिला मतदाता
तस्बिर : केशव अधिकारी

काठमाडौं : प्रतिनिधि÷प्रदेशसभाको आइतबार सम्पन्न पहिलो चरणको चुनावमा जनसंख्या कम भएका हिमाली जिल्लामा धेरै प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार डोल्पा, मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, मुगु जस्ता हिमाली जिल्लामा सबैभन्दा बढी मतदान भएको छ ।
हिमाली र उच्च पहाडी ३२ जिल्लामा आइतबार मतदान भएको थियो ।

आयोग प्रवक्ता नवराज ढकालका अनुसार पहिलो चरणमा सबैभन्दा बढी डोल्पामा ८१.४५ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम रोल्पामा ५५.१० मतदान भएको छ । १८ हजार सात सय ६८ मतदाता रहेको डोल्पामा १५ हजार दुई सय ८६ जनाले मतदान गरेका छन् । जसमा पुरुषको संख्याभन्दा महिला मतदाताको संख्या ६ सय ५६ ले बढी छ । डोल्पामा सात हजार नौ सय ७१ महिला र सात हजार तीन सय १५ जना पुरुषले मतदान गरेका छन् । डोल्पापछि रसुवामा ८०.७९ प्रतिशत मतदान भएको छ । रसुवामा ३२ हजार तीन सय २२ मतदातामध्ये २६ हजार एक सय १४ मत खसेको छ ।

पहिलो चरणमा खसेको मत संख्याअनुसार २७ जिल्लामा महिला र पाँच जिल्लामा पुरुष मतदाताको मत बढी छ । दोलखा, रसुवा, धादिङ, सिन्धुपाल्चोक र दार्चुलामा महिलाभन्दा पुरुषको मत बढी खसेको छ । भोजपुरमा ३३ हजार एक सय आठ महिला र ३३ हजार एक सय सात जना पुरुषले मतदान गरेका छन् । भोजपुरमा पुरुषभन्दा एक मात्र बढी मत महिलाको खसेको छ । सबैभन्दा कम पाँच हजार आठ सय ८१ मतदाता रहेको मनाङमा चार हजार तीन सय ३८ मत खसेको छ ।

पुरुषको संख्या भन्दा ४३ हजार नौ सय ११ जना बढी महिलाले मतदान गरेका छन । पहिलो चरणमा नौ लाख ८६ हजार पाँच सय ६३ महिला र नौ लाख ४२ हजार ६ सय ५२ पुरुषले मतदान गरेका छन् । पहिलो चरणमा चार मत तेस्रो लिंगीको पनि खसेको छ । 

मनाङमा कुल मतदाताको ७३.७६ प्रतिशत मत खसेको छ । मुस्ताङमा ७१.८५, हुम्लामा ७९.१८, मुगुमा ७६.१३ र बाजुरामा ७६.२० प्रतिशत मतदान भएको छ । सबैभन्दा कम रोल्पामा ५५.१० प्रतिशत खसेको छ भने कालिकोटमा ५७.१३ र बैतडीमा ५७.७० प्रतिशत मतदान भएको छ । गोरखामा ६५.६९ प्रतिशत मात्र मतदान भएको छ ।

ताप्लेजुङ,पाँचथर, संखुवासभा, ओखलढुंगा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, लमजुङ, म्याग्दी, रुकुम (पूर्वी), बाग्लुङ, दार्चुलामा ६० प्रतिशत बढी मतदान भएको छ । खोटाङ, सोलुखुम्बु, कालिकोट र बैतडीमा ६० प्रतिशत भन्दा पनि कम मतदान भएको छ । ३२ जिल्लामा कुल मतदाता ३१ लाख ९१ हजार नौ सय ४५ मध्ये २० लाख ७२ हजार ६ सय ५७ मत खसेको छ । निर्वाचन आयोगका अनुसार यो कुल मतदाताको ६५ प्रतिशत मतदान हो ।

पुरुषको संख्या भन्दा ४३ हजार नौ सय ११ जना बढी महिलाले मतदान गरेका छन । पहिलो चरणमा नौ लाख ८६ हजार पाँच सय ६३ महिला र नौ लाख ४२ हजार ६ सय ५२ पुरुषले मतदान गरेका छन् । पहिलो चरणमा चार मत तेस्रो लिंगीको पनि खसेको छ । रसुवा, मुस्ताङ, जाजरकोट र म्याग्दीमा १-१ जना तेस्रो लिंगीले मतदान गरेका छन् ।

निर्वाचन आयोगले पहिलो चरणका दुई हजार नौ सय १७ मतदानस्थलमध्ये एक सय २९ स्थलका मतपेटिका हेलिकोप्टरबाट सम्बन्धित जिल्लाका सदरमुकाममा ओसार्ने काम भइरहेको जनाएको छ । आयोगले सबै मतपेटिका पुगे पनि दोस्रो चरण मंसिर २१ को निर्वाचनपछि मात्र गणना गर्नेछ ।

-अन्नपूर्ण पोष्ट डट कमबाट