मतपेटिका रहेको कोठामा काठको पत्ताले समेत सिल

1094 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ply-seal-3प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतपेटिका राखिएको स्थानमा सुरक्षा सतर्कता थप व्यवस्थित बनाउन कोठाको झ्याल र ढोकामा थप सिल गरिएको छ ।
आइतबार भएको मतदानको त्यही दिन राती मतपेटिका सहित झ्याल र ढोका सिल गरेर सुरक्षा पहरामा भण्डारण गरिदै आएको मतपेटिका रहेको कोठालाई काठको पत्ताले समेत सिल गरिएको हो । मतपेटिका भण्डारण गरिएको स्थान डिभिजन सहकारी कार्यालयको बैठक कक्षको झ्याल र ढोकामा यसअघि लाहाछापले सिल गरेर उम्मेदवारका प्रतिनिधिको रोहबरमा तीन घेराको सुरक्षा पहरा दिएपनि राजनीतिक दलले सुरक्षा अबस्था प्रति शसंकित हुदै काठको पत्ताले थप सिल गर्न लगाइएको हो ।
निर्वाचनको मैदानमा रहेका उम्मेदवारहरुले झ्यालमा सिल गरेपनि सिसाबाट भित्रको दृष्य देखिएको भन्दै काठको पत्ता राखेर थप सिल गर्न लगाएका छन् । सिल गरिएको कोठामा प्रतिनिधिसभा सदस्य क्षेत्र नंं १ अन्तरगतको दुवै प्रदेशसभा र समानुपातिक तर्फको मतपेटिका राखिएको छ । बामगठबन्धनका उम्मेदवारहरुले यसअघि देखि नै मतपेटिका भण्डारण गरेको स्थानमा काठको पत्ताले सिल गर्न गरेको आग्रह काँग्रेसका उम्मेदवारले भित्रको दृष्य बाहिरबाट देखिएमा मुसा लगायतले मतपेटिका क्षति पु¥याउन खोजेमा रोक्नको लागी सजिलो हुने भन्दै असहमति जनाएर काठको पत्ताले सिल गर्न रोकिएको थियो ।
बामगठबन्धनका उम्मेदवारले काठको पत्ता नराखेसम्म सुरक्षा प्रति विश्वस्त हुनसक्ने अबस्था नभएको भन्दै अडान राखेपछि आज उम्मेदवारको रोहबरमा नै कोठको खुला स्थानमा काठको पत्ताले सिल गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभएको छ ।
१ नंं निर्वाचन क्षेत्रको मतपेटिका राखिएको स्थानमा काठको पाता राखेर थप सिल गरेपनि २ नं. निर्वाचनमा क्षेत्रमा भने झ्याल र ढोकामा लगाइएको सिलले नै सुरक्षा भरपर्दो अबस्थामा रहेको राजनीतिक दल र उम्मेदवारहरुले बताएका छन् ।
आइतबार सम्पन्न भएको मतदानको मतपेटिका राखिएको स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत गरेर तीन घेराको सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । मतपेटिका राखिएको स्थानको पहिलो घेरामा नेपाल प्रहरीसगै उम्मेदवारका प्रतिनिधिहरुले पनि २४ सै घण्टा मतपेटिका कुर्दै आएका छन् ।
nuwakot-2मतपेटिका राखिएको स्थानको सुरक्षा प्रति राजनीतिक दल र उम्मेदवारलाई आश्वस्त बनाउनको लागी सिसिक्यामरा समेत जडानको तयारी गरिएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिनुभएको छ । मतपेटिका भण्डारण गरिएको स्थान दुई वटै निर्वाचन अधिकृतको कार्यालयमा सिसिक्यामरा जडान गरेर सुरक्षा ब्यबस्थामा सहजता अपनाउने र मतगणनाको समयमा समेत सिसिक्यामरा राख्ने तयारी गरिएको छ ।