लोकतान्त्रिक गठवन्धनको कमाल : तिप्लिङमा १६ जना मृतकको नाममा मतदान !

1888 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

buddhiman-cover धादिङ । धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिका ४ सेर्तुङको मुक्रावदेवि मावि बोराङमा मृतकको नाममा समेत मतदान भएको छ । वैशाख १२ को विनाशकारी भूकम्प र अन्य कारणले मृत्यु भएकाको नाममा समेत मतदान भएको यो क्षेत्र पूर्व गृहमन्त्री तथा राप्रपाका नेता बुद्धिमान तामाङको घर नजिकै पर्छ ।

उनका भाई डम्बर बहादुर तामाङ क्षेत्र नम्बर २ ‘ख’बाट लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रदेश सदस्यका लागि उम्मेदवार छन् । यता बुद्धिमान भने सोही क्षेत्रबाट राप्रपाको समानुपातिक उम्मेदवार छन् । उनीहरुले १७ जना मृतकको नाममा मतदान गरेको खुलेको छ ।

गत मंसिर १० मा सम्पन्न प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनका क्रममा कुल ८१५ मतदाता रहेको बोराङमा ८०९ जनाले मतदान गरेका छन् । नेपालको इतिहासमै पहिलो पटक ९९.२६ प्रतिशतले मतदान गरेको देखिएको यहाँ राप्रपा र नेपाली कांग्रेसको तालमेल छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधी सभा सदस्यका लागि दिलमान पाख्रिन उम्मेदवार छन् भने राप्रपा बाट समानुपातिकमा बुद्धिमान तामाङ र प्रदेश सभा उम्मेदवारमा उनका भाइ डम्बर तामाङ उम्मेदवार छन् ।

 


मृतक १७ जना मध्ये १ जनाले आत्म हत्या गरेको भेटिएको छ । अन्य ८ जनाको कालगतिले, र ८ जनाको भूकम्पमा परी मृत्यु भएको हो ।
मतदान अधिकृत होम प्रसाद सिटौलाले कुल ८१५ मतदाता मध्ये ८०९ जनाले मतदान गरेको स्विकार गरे ।

‘हामीले भाषा जान्दैनौँ । उहाँहरुले तामाङ भाषा बोल्नु हुन्छ । को–को आए थाहा भएन । बुद्धिमान तामाङ र डम्बर तामाङ पनि त्यहीँको उम्मेदवार हुनुहुन्छ,’ उनले भने,‘मृतकको नाममा समेत मतदान गरेको भन्ने कुरामा हामी केही जान्दैनौँ । त्यहाँ राप्रपा नै बलियो हो । अरु दलका एजेन्ट पनि आउनु भएको थियो । हामीलाई भन्दा त्यहाँका एजेन्टलाई यो विषयमा जानकारी बढी छ ।’

राप्रपाले इन्द्रमाया तामाङ, कृति तामाङ, चिरचा तामाङ, देमेन तामाङ, ध्यान्जोन तामाङ, नर बहादुर कामी, बखरा तामाङ, मानसिंह तामाङ, म्हेपुङ तामाङ, मैना विक, धोमिनी तामाङ, श्री दुर्गाबहादुर तामाङ लगायत १६ जना मृतकको नाममा मतदान गरेको भेटिएको छ ।
निर्वाचन आयोगले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।