४५ जिल्लाका १ सय २८ क्षेत्रमा मतदान जारी

816 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मतदान केन्द्रमा मतदानको प्रकृया सुरु भएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले सबै मतदातालाई सहभागी हुन आग्रह समेत गर्नुभएको छ ।

निर्वाचन आयोगले मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि भोट खसाल्न पाउनेछन् ।

४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ गरी कुल ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २ सय २० पदमा ५ हजार ८ सय ३८ उम्मेदवार छन् । सात हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् ।

मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ ।

रातो मतपत्रको माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।

माओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान

चितवन । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन् । बिहान ७ बजेर १३ मिनेट जाँदा उनले मतदान गरेका हुन् ।

चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । म तदान पछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले गठबन्धन अनुसार नै आफूले मतदान गरेको बताए ।

दाहाल पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् । भने माइली छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दैछन् । उनले मतदान गरेको चितवन क्षेत्र नं ३ बाट पाण्डे लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् ।

शिक्षा राज्यमन्त्री एवं चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार शेषनाथ अधिकारीले रत्ननगर नगरपालिका वडा नं. ३ को शहीद स्मृति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

चितवनको अर्को नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मतदान गर्दै छन् । उनले वडा नं ५ को हल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्ने छन् । उनी चितवन क्षेत्र नं. १ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले भरतपुर महानगरपालिका वडा नं. १० स्थित नारायणी नमूना उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

नेकपा माओवादी (केन्द्र)का अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गर्दै छन् ।