‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक

1349 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Book Launch (2)काठमाडौँः ज्ञानमित्रद्वारा लिखित विज्ञानसम्बन्धी पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक भएको छ । राजधानी काठमाडौँमा आइतबार विद्यार्थी नेता अनिल शर्मा, शिक्षासेवी प्रमिला सिंह र छ वर्षको उमेरमा सवारी साधन चलाएर रेकर्ड बनाएका आवश्यक सिंहले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।
एनके सिंह मेमोरियल ईपीएस स्कुल नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा स्कुलको प्रार्थना सभामै पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तकमाथि टिप्पणी गर्दै सोही स्कुलकी छात्रा स्मृति सिलवालले सार्वजनिक गरिएको पुस्तक विज्ञान र वैज्ञानिक विषयमा रुचि राख्ने सबैका लागि उपयोगी भएको बताइन् । उनले उक्त पुस्तकमा पृथ्वीका बारेमा सँगै मानव शरीरका विभिन्न अंग र तयारी चाउचाउसम्मका २४ वटा विषयमा रोचक जानकारी दिइएको उल्लेख गरिन् । उक्त पुस्तक विशेषगरी युवा विद्यार्थीका लागि उपयोगी हुने उनको भनाइ थियो ।
स्कुलकी प्राचार्य प्रमिला सिंहले सार्वजनिक गरिएको पुस्तक विशेषगरी विद्यालय तहका छात्रछात्रालाई केन्द्रित गरी लेखिएको बताइन् । पुस्तकमा कतिपय कुराहरू साँच्चै रोचक र अनौठा भएको बताउँदै सिंहले हरेक व्यक्तिका लागि पुस्तक उपयोगी रहेको धारणा राखिन् । उनले मधुमेहदेखि हृदय, पृथ्वीदेखि चट्याङ, आँखादेखि कोषिकासम्मका बारेमा जानकारी दिइएकाले उक्त पुस्तकबाट जोकोहीले विशेष ज्ञान प्राप्त गर्न सक्ने बताइन् ।
ज्ञानमित्रले उक्त पुस्तक आफूले लेखेको नभई संकलन गरेर प्रस्तुत गरेको बताए । ‘पपुलर साइन्स’का बारेमा आफ्नो रुचि रहेको र त्यससँग सम्बन्धित केही विषयलाई आफूले विभिन्न स्रोतबाट संकलन गरी प्रस्तुत गरेको उनको भनाइ थियो ।
पत्रकारिता र साहित्य क्षेत्रमा लामो समय व्यतीत गरेर पछिल्लो समय सन्यासी बनेका ज्ञानमित्रले आगामी दिनमा यस्ता अन्य विषयमा पनि पुस्तक प्रकाशन गर्ने बताए ।
पुस्तक सार्वजनिक भएपश्चात विद्यार्थीहरूबीचमा पुस्तकमाथि अन्तत्र्रिmया पनि भएको थियो । अन्तक्र्रियामा विद्यार्थीहरूले विज्ञान र उक्त पुस्तकबारे राखेका जिज्ञासाबारे ज्ञानमित्रले जवाफ दिएका थिए ।
पुस्तकको प्रकाशन क्वान्टम बुक हाउसले गरेको हो । पुस्तकको मूल्य ३७५ रूपैयाँ रहेको छ ।