एलपी ग्याँस उद्योगको रोजाइमा धादिङका राजमार्ग ,सुरक्षा चुनौती बढ्दै

2640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSCF0143धादिङ, – राजधानी र देशका मुख्य ठूला सहरहरूको छेउमै रहेको धादिङ जिल्लाको राजमार्ग क्षेत्र ग्याँस उद्योगीहरूको रोजाइमा पर्न थालेको छ । उद्योगीहरूको रोजाइकै कारण पृथ्वी राजमार्गको सुरुआत धुनिवेसी नगरपालिकाको खानीखोला देखि वेनिघाट रोराङ गाउँपालिकाको मझिमटारसम्म १९ ओटा ग्याँस उद्योग अहिले स्थापना भई सञ्चालनमा रहेका छन् । अझै केही उद्योग स्थापनाको तयारिमा छन । राजमार्ग क्षेत्रमा ग्याँस उद्योगको स्थापना संगै सुरक्षाको चुनौती थपिएको छ । पछिल्लो पटक बिरगन्जमा भएको आगलागीको घटना पछि धादिङका ग्याँस उद्योगमा कार्यरत मजदुर र आसपासका वासिन्दा त्रसित हुन पुगेका छन ।
धादिङ जिल्लामा अहिले सम्म स्थापना भएका र सञ्चालनमा आउन तयारीमा रहेका सबै ग्याँस उद्योग बस्तीको बिचमा रहेको कारण पनि सर्वसाधरणमा त्रास फैलिएको हो ।

 ग्यास र प्लास्टिक उद्योगले सुरक्षाका उपाय नअपनाएको त्यहाँ कार्यरत मजदुरहरुको गुनासो छ ।  यसबाट आसपासका बस्ती र उद्योगमा काम गर्ने मजदुरको सुरक्षामा चुनौती थपिँदै गएको छ । जोखिमयुक्त उद्योगले सञ्चालन अनुमति लिँदा गरेका लिखित सर्तसमेत पालना गरेका छैनन् ।
राजमार्ग आसपास १९ ग्यास उद्योग, ३० पेट्रोल पम्प, प्लास्टिक बनाउने कारखानाजस्ता जोखिमयुक्त उद्योग सञ्चालित छन् । भएकै उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेका बेला आयल निगमले जिल्लामा थप ६ वटा ग्यास उद्योग सञ्चालनको स्वीकृति दिएको छ । मुख्यतया राजधानीलगायत पोखरा, तनहुँ, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, नुवाकोट र रसुवामा ग्यास आपूर्ति गर्दै आएका ठूला उद्योगले सुरक्षाप्रति चासो दिएका छैनन् ।
धमाधम बस्ती विकास भइरहेका राजमार्ग वरपरका क्षेत्रमै हचुवामा उद्योग सञ्चालन अनुमति दिइएको प्रशासनकै कर्मचारी स्वीकार्छन् । प्रमुख राजमार्ग, मानवीय बस्ती, विद्यालय, होटल, अस्पताललगायत सार्वजनिक स्थल, सामुदायिक वनबाट निश्चित दूरीमा रहने सर्तमा ग्यास भर्ने प्लान्ट र पेट्रोलियम पदार्थ बेच्ने पम्पलाई सञ्चालन अनुमति दिने कानुनी प्रावधान छ । तर यहाँ धेरै वटा प्लान्ट र पम्प सय मिटरकै आसपासमा छन् । कतिपय पेट्रोलपम्प र ग्यास प्लान्टको दूरी ५० मिटर पनि छैन ।
गर्मी मौसममा उद्योगमा रहेका ग्यास बुलेटलाई पानीका फोहरा दिएर चिसो बनाउने, हरेक उद्योगमा अग्नि नियन्त्रणका उपकरण जडान गर्ने, बाहै्र महिना जतिबेला पनि पानीको पर्याप्त व्यवस्था हुनुपर्ने, आगो नियन्त्रण उपकरण जडान गर्नुपर्ने नीतिगत व्यवस्था छ । तर अधिकांश उद्योगमा पर्याप्त पानीसमेत छैन । बस्तीको सुरक्षा त परै, प्लान्टका कर्मचारी र मजदुरको सुरक्षासमेत छैन । धेरै प्लान्टसँग ग्यास भर्ने पुराना सिलिन्डरको सुरक्षा परीक्षण उपकरण पनि छैनन् ।
 राजमार्गका प्लान्टका लागि प्रतिदिन ५० भन्दा बढी बुलेटले ग्यास ओसार्ने गरेका छन् । सदरमुकामको नगरपालिकाबाहेक राजमार्ग र जिल्लाको अन्य  कुनै पनि स्थानीय तहमा अग्नि नियन्त्रण उपकरण  छैनन् । ‘हरेक घटनामा राजधानीबाटै दमकल बोलाउनुपर्ने बाध्यता छ । टाढा भएकाले समयमा दमकल आइपुग्दैन।

खाना पकाउन प्रयोग हुने एलपी ग्याँसको सिलिन्डर भर्ने उद्योगको करिडोरको रूपमा परिचित राजमार्ग क्षेत्रमा ग्याँस उद्योग भित्रिएको सात वर्ष मात्र भएको छ । सात वर्षको अवधिमा वर्षको दुईओटाका दरले उद्योग स्थापना भएका छन् ।
मझिमटारदेखि खानीखोलासम्म १३ ओटा ग्याँस उद्योग स्थापना भइसकेका छन् । उद्यमीहरूका अनुसार उद्योगको संख्या र ग्याँस भित्रिएको समय हेर्दा वर्षमा सरदर दुई उद्योगले प्लान्ट स्थापना गरेको पाइन्छ । देशभर ग्याँस उद्योगको संख्या ५२ पुग्दा धादिङमा २५ प्रतिशत रहेको छ । धादिङमा ग्याँस उद्योगको स्थापना २०६३ मा भुमेस्थान–९ खयरघारीमा ओम ग्याँसबाट सुरु भएको हो । नौबिसेमा तीन, थाक्रेमा दुई, भुमेस्थानमा दुई ,बैरेनीमा एक, गजुरीमा एक, बेनिघाटमा दुई, धुसामा एक र जोगिमारामा एउटा ग्याँस उद्योग स्थापना भएको छ । यी सबै उद्योगको लक्ष्य काठमाडौंको बजारलाई ग्याँस आपूर्ति गर्ने रहेको छ ।
imagesग्याँस व्यवसायी महासंघका पूर्वअध्यक्ष हरिप्रसाद पाठकका अनुसार धादिङमा रहेका अधिकांश उत्पादनको मुख्य बजार काठमाडौं नै हो । ८० प्रतिशत उत्पादन काठमाडौंमा खपत हुने भएकाले कुनै कारणवश उपभोक्ताकहाँ ग्याँस पुग्न ढिलाइ नहोस् भनेर राजधानीको नजिकका बस्तीलाई ग्याँस उद्योगको करिडोरका रूपमा रोजिएको हो । जिल्लाकै पुरानो ग्याँस प्लान्ट ओम ग्याँसको सञ्चालकसमेत रहेका पाठक नै धादिङमा व्यावसायिक रूपमा ग्याँस उद्योग भिœयाउने पहिलो उद्योगीसमेत हुन् ।
धादिङका सबै उद्योगहरूको मुख्य बजार काठमाडौं हो । सबैजसो सञ्चालक काठमाडौंमा ८० देखि ८५ प्रतिशत ग्याँस खपत हुने दाबी गर्छन् । काठमाडौंबाहेक सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र नुवाकोट सहायक बजार रहेको उनीहरूको भनाइ छ ।
सबैभन्दा धेरै स्टोरेज क्षमता भएको सातकिलास्थित श्री ग्याँसको बुलेट संख्या ६ ओटा छ । यसले ३ सय टन ग्याँस स्टोरेज गर्न सक्छ । १ लाख सिलिन्डर रहेको श्रीले ४३ रोपनी जग्गामा उद्योग स्थापना गरेको प्रबन्धक निलमप्रसाद पन्त बताउँछन् । प्रतिघन्टा १२ सय सिलिन्डर भर्न सक्ने उद्योगले दैनिक ३५ सय सिलिन्डर बजार पठाउँछ । सरकारको स्वामित्व रहेको साल्ट ट्रेडिङ कम्पनीको मेट्रो काठमाडौं ग्याँस थाक्रेको जुगेखोलामा स्थापना गरिएको छ । तीनओटा बुलेटमा १ सय ५० टन स्टोरेज गर्न सक्छ । एसटीसी ब्रान्डमा ७५ हजार सिलिन्डर रहेको उद्योगले दैनिक १ हजार सिलिन्डर काठमाडौं पठाउँछ । प्रतिमिनेट ६ ओटा सिलिन्डर भर्न सक्ने क्षमता भएको उद्योग अटोमेटिक प्लान्टबाट सञ्चालित छ ।
हिमालयन पेट्रो केमिकल्सले धार्केमा एचपी ग्याँस सिलिन्डर भर्छ । दुईओटा बुलेटमा १ सय टन स्टोर हुन्छ । दैकिन ११ सय सिलिन्डर काठमाडौं निर्यात गर्ने यो उद्योगमा खेतान ग्रुपको लगानी रहेको छ । धार्केमै रहेको सिद्धार्थ ग्याँसको दुईओटा बुलेटमा ७० टन स्टोरेज तथा १ हजार सिलिन्डर ग्याँस बजार पठाइने प्लान्ट इन्चार्ज रामप्रसाद चापागाईंले बताए ।
भूमेस्थानको श्रीराम ग्याँस २६ रोपनीमा फैलिएको छ । निजी क्षेत्रको कन्भेयर सिस्टमबाट अटोमेटिक ग्याँस भरिने इन्चार्ज मिलन कार्की बताउँछन् । डिजिटल काँटा जडान गरिएको श्रीरामले दैनिक साढे १६ सय सिलिन्डर काठमाडौं पठाउँदै आएको कार्कीले जानकारी दिए । १ लाख २२ हजार सिलिन्डर रहेको श्रीरामको स्टोरेज क्षमता भने १ सय टनको छ । २ सय टन स्टोरेज गर्न सक्ने ओम ग्याँसले साढे १३ सय सिलिन्डर काठमाडौं पठाउँछ । १ लाख सिलिन्डर रहेको यस उद्योगको ८५ प्रतिशत बजार काठमाडौं नै भएको सञ्चालक हरिप्रसाद पाठक बताउँछन् ।
बैरेनीको नमस्ते ग्याँसले दुई बुलेटमा सय टन स्टोर गर्छ । ४० हजार सिलिन्डर रहेको यस उद्योगको १२ सय सिलिन्डर दैनिक उत्पादन हुने बताइएको छ । काठमाडौंको सबैभन्दा नजिक रहेको सुगम ग्याँसको चार बुलेटमा २ सय टन स्टोरेज र ५० हजार सिलिन्डर मार्केटमा छ । ६ सय सिलिन्डर दैनिक बजारमा जाने यो उद्योग काठमामडौंबाट सबैभन्दा नजिकमा रहेको छ ।
गजुरीमा गीता ग्याँसको पनि दुईओटा बुलेटममा १ सय टन स्टोरेज हुन्छ । विशालटारमा रहेको क्याप्सन ग्याँस, श्रीकृष्ण ग्याँस र कृष्णभीरनजिकै तारा ग्याँस र मझिमटारमा रहेको त्रिवेणी ग्याँसले काठमाडौंलाई लक्षित गरेर उद्योग स्थापना गरेका हुन् । ग्याँस उद्योगहरूले धादिङलाई कार्यक्षेत्र बनाउँदा स्थानीयले रोजगारी पाएका छन् । प्रत्येक उद्योगमा कम्तीमा १५ जना स्थानीय कामदार छन् । सबै उद्योगमा गरी करिब २ सयजनाले रोजगारी पाएका छन् ।
सरकारले दिने यातायात सहुलियतलाई नाफा गर्न पनि धादिङ पहिलो रोजाइ बनेको छ । छोटो दूरीमा ढुवानी कम पर्छ, आयल निगमले दिने सहुलियत वीरगन्ज र धादिङलाई समान रहेको धादिङमा प्लानट इन्चार्जको रूपमा कार्यरत एक म्यानेजर बताउँछन् ।