काठमाडौं–नौंबिसे सुरुङमार्गको मुआब्जालाई आवेदन लिन थालियो

829 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, – काठमाडौं–नौंबिसे सुरुङमार्ग निर्माणलाई अब प्राथमिकता दिइने भएको छ । सुरुङमार्ग क्षेत्रभित्र पर्ने घर, टहरा तथा बोट विरुवाको मुआब्जाका लागि प्रभावित क्षेत्रका ९० प्रतिशतभन्दा बढीले आवेदनसमेत दिइसकेका छन् ।

Photo-surung-margaयसअघि सुरुङमार्ग आयोजना क्षेत्रभित्र पर्ने घर, टहरा तथा बोट विरुवाको मुआब्जा लिनका लागि गत कात्र्तिक २२ गते कागजात पेस गर्न सरकारले ३० दिने सूचना सार्वजनिक गरेको थियो ।

नौंबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गअन्तर्गत पर्ने साविकको महादेशस्थान, दहचोक, बलम्बुर थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना गरेकोमा ९० प्रतिशतभन्दा बढीले आवेदन दिइसकेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

कित्ता नम्बरसहित प्रकाशित भएको सूचनामा अनुरुप घर, जग्गा, टहरा, रुख विरुवा लगायतको मुआब्जा दाबी गर्दै एक महिनाभित्र कागजात पेश गर्न आह्वान गरिएको थियो । ४३७ कित्ता जग्गा अधिग्रहण गर्नुपर्ने सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । ३ लेनको एक्सेस रोडका लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको सूचना निकालेको हो ।

सुरुङमार्ग निर्माणका लागि जनवरी महिनाभित्रमा ग्लोबल टेण्डर आह्वान गर्ने तयारी सरकारको छ । एक्सेस रोड सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने एक्सेस रोड निर्माण गर्नुपर्ने छैन । १२ मिटर चौडाइको यो सुरुङमार्गमा दुवैतिर १÷१ मिटरको पैदलयात्रीले प्रयोग गर्ने पेटी राखिने छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान राखिनेछ । आकस्मिक दुर्घटनाका समयमा उद्दारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइने छ । सुरुङमार्ग २ लेनमा थप एक लेन मापदण्डको हुन्छ । २ लेन थप एक लेन सडक खण्डमा दुवै साइडका सडक बेला–बेलामा २ लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चने हुन्छ ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत ब्याजमा ४० वर्षका लागि यो ऋण दिएको हो । यो परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ । सरकारले सुरुङमार्गको निर्माणका लागि यो वर्ष ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ । सुरुङमार्गमा प्रज्वलनशील पदार्थ बोकेका, मालबाहक ट्रक र मोटरसाइकल चलाउन दिइने छैन ।