पहिलोपटक ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक

1152 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पुस २९, भक्तपुर । गत असारमा सम्पन्न कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिवार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा तीन लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको छ । गत असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिएको र एकजनाको परीक्षा स्थगित गरिएको बोर्डले बताएको छ ।

परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ । बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिएका छन् ।

एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन् । ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन् । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक मिति सार्दै असार १ गतेदेखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै बोर्डले सात महीनापछि नतिजा सार्वजनिक गरेको हो । रासस