साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

1276 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

01015chepang-dhading-kantipur_2ghoSOLgRYधादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला घोषणा गर्नु अघि साविकको ५० वटै गाविसलाई पूर्ण साक्षर गाविसको उपमा पनि दिईयो । साक्षर जिल्ला घोषणाका लागि सरकारी तथा गैर सरकारी संस्थाले कागजी साक्षरताका लागि गाउँ गाउँमा गएर पढाउने जिम्मा पाएका थिए । गाउँमा साक्षरता कक्षा सञ्चालन नभएपनि जिल्ला शिक्षा कार्यालय र सरोकारवाला निकायले अनुगमनको नाटक गर्दै सबै गाविसमा साक्षरता कक्षा सफल भएको कागजी प्रमाण पेश गर्दै जिल्लालाई पूर्ण साक्षर भएको घोषणा गरिएको थियो ।
साक्षरता कक्षा प्रभावकारी हुन नसकेको पूर्ण साक्षर जिल्ला घोषणा हतारमा गरिएको जनगुनासो आएपनि कसैले चासो देखाएनन । वाजा गाजाका साथ फुलमालामा ठाँटिएर गाउँदेखि जिल्ला सम्म साक्षर घोषणा गर्नेहरुको लर्कोनै लागेको थियो ।
आखिर काजगमा मात्र साक्षर घोषणा गरि साक्षरताका नाममा जिल्लाका गैर सरकारी संस्था र जिल्ला शिक्षा कार्यालय तथा सो मातहतको निकायको नौटकीं अहिले पर्दाफास हुनेक्रम बढ्दै गएको छ । आफ्ना नातेदार तथा आसेपासेलाई साक्षरता कक्षाको शिक्षक वनाउँदै प्रतिवेदन तयार पारेका संघसंस्था र शिक्षा कार्यालयका तत्कालिन कर्मचारीलाई अलिकतिपनि लाज शरम लागेको देखिंदैन । अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो ।

तर, बेनीघाट ब्रुसवाङका चेपाङहरूलाई नागरिकता र न्यानो कपडा वितरण गर्न जाँदा भने उनी त्यहाँको अवस्था देखेर तीनछक परे । राहत लिन आएका १ सय २५ चेपाङ युवामध्ये ९० जनाले ल्याप्चे नै लगाएर सामग्री बुझ्दा सहायक प्रजिअ ढकालले ‘पूर्ण साक्षर’ जिल्लाको वास्तविकता बल्ल थाहा पाए । ‘

राजमार्ग र देशको राजधानी नजिकैको पूर्ण साक्षर जिल्लाका विपन्न चेपाङ अझै जस्ताका तस्तै होलान् भनेर मैले सोचेको पनि थिइनँ,’ ढकालले भने, ‘पढ्ने उमेरका युवायुवतीसमेतले नपढेको देख्दा शिक्षा क्षेत्रमा गरिएको लगानीको उपादेयताबारे पुनर्विचार गरिनुपर्ने देखें ।’

हचुवा तथ्यांकका भरमा हतारमा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको यो घटनाले पुष्टि गर्छ । २०७१ मा निकै तामझामका साथ धादिङलाई पूर्ण साक्षर घोषणा गरिएको थियो । यसका लागि जिल्ला शिक्षा कार्यालय र अन्य संघसंस्थाहरूले करोडौं रकम खर्चेका थिए । त्यतिबेला जिल्लामा ९८ दशमलव ४ प्रतिशत प्रौढहरूले नेपाली अक्षर चिन्ने र आफ्नो नाम लेख्न सक्ने तथ्यांक पेस गरियो ।

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ असार २९ मा फोनबाटै पूर्ण साक्षर घोषणा गरेकी थिइन् । तर जिल्लाको यथार्थ चित्र भने निकै फरक छ । उत्तरी धादिङका तामाङ बस्ती र दक्षिण धादिङका चेपाङ बस्तीमा अझै धेरै व्यक्ति निरक्षर छन् । भूकम्पपीडित लाभग्राहीले पाउने पहिलो किस्ताको रकम लिन खोलेको अधिकांश बैंक खाता पनि ल्याप्चेका भरमा छन् ।

‘एउटै गाविस सुगम पनि छ र निकै दुर्गम पनि छ,’ स्थानीय संस्था प्रयास नेपालका पूर्वअध्यक्षसमेत रहेका शिक्षक कृष्ण चेपाङले भने, ‘९ घण्टा पैदल हिँडेर राजमार्ग पुग्ने चेपाङबस्तीका बासिन्दा कसरी उँभो लाग्नु ?’ आजको कान्तिपुरमा खबर छ ।

र यो पनि हेर्नुहोस

धादिङ जिल्ला अव पूर्ण साक्षर जिल्ला

धादिङ, २०७१ असार २९ – सन् २०१५ सम्म नेपाललाई पूर्ण साक्षर घोषणा गरिसक्ने सरकारी प्रतिवद्धता अनुसार आईतवार धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आईतवार भव्य कार्यक्रमको आयोजना गरी धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । यसअघि सिन्धुपाल्चोक ललितपुर र पाल्पा जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भईसकेका छन । जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेरका निरक्षर व्यक्तिलाई साधारण लेखपढ गर्न सक्ने वनाउंदा जिल्लाको साक्षरता प्रतिशत ९९.४ भएकाले धादिङ जिल्ला पूर्ण साक्षर जिल्ला वनेको हो । जिल्लामा अझै पनि केही व्यक्तिहरु साक्षर हुन वांकी रहेकाले ति सबैलाई आगामी दिनमा अनौपचारिक शिक्षाको माध्यमले साक्षर बनाई जिल्लालाई शतप्रतिशत साक्षर बनाउने अभियानमा जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कुनै निश्चित स्थानमा ९५ प्रतिशतभन्दा बढी साक्षर भएमा पूर्ण साक्षर भएको मानिन्छ । जिल्ला पूर्ण साक्षर भएको घोषणा सदरमुकामको नीलकण्ठ उच्च माविको प्राङ्गणमा आयोजना गरिएको थियो । निमित्त स्थानिय विकास अधिकारी एवम जिल्ला शिक्षा समितिका अध्यक्ष इन्जिनियर निर्मलदर्शन आचार्यको अध्यक्षतामा भएको घोषण कार्यक्रमका प्रमुख अतिथी शिक्षा मन्त्री चित्रलेखा यादव कार्यव्यस्तताका कारण कार्यक्रम स्थल आउन नसकेपछि स्काईपमा भिडियो कल मार्फत सम्वोधन गरी जिल्लालाई साक्षर घोषणा गरिएको थियो । शिक्षा मन्त्रीको अनुपस्थितीमा धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटीले साक्षर जिल्ला घोषणा लेखिएको शिलालेखको अनावरण गरेका थिए । यसैगरी अनौपचारिक शिक्षा केन्द्रका निर्देशक वाबुराम पौडेलले जिल्ला साक्षर घोषणा भएकोमा शिक्षा मन्त्रालय मार्फत पांच लाख रुपैयाको चेक धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका थिए । जिल्लाका ४६ गाविस र १ नगरपालिकामा तोकिएको मापदण्डअनुसारको साक्षरता कक्षा संचालन भएपछि जिल्लालाई पूर्ण साक्षर जिल्लाका रुपमा घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी सुवेदीले वताए । जिल्लालाई पूर्ण साक्षर घोषणा गर्नका लागि धादिङका तीनवटै निर्वाचन क्षेत्रका विद्यालयका प्रधानाध्यापक, विद्यार्थी र शिक्षक जिल्ला सदरमुकाम धादिङबेसीमा भेला भएका थिए । उनीहरुले जिल्ला पूर्ण साक्षर भएको खुसीयालीमा जिल्ला सदरमुकाम धादिङबेसीमा र्याली तथा झांकी प्रदर्शन गरेका थिए । जिल्ला पूर्ण साक्षर भएको घोषणा मन्त्री यादवले भिडियो कन्फ्रेन्स मार्फत सम्वोधन गरेपछि सोही अवसरमा मन्त्रीका प्रतिनिधि सभासद गुरुप्रसाद वुर्लाकोटीले अनौपचारिक शिक्षा केन्द्रद्धारा जारी प्रमाणपत्र जिल्ला शिक्षा अधिकारी सुवेदी र जिल्ला शिक्षा समितिका अध्यक्ष एवं निमित्त स्थानीय विकास अधिकारी निर्मलदर्शन आचार्यलाई प्रदान गरेका थिए । निर्धारित लक्ष्य समयमै पूरा गरेकाले शिक्षा मन्त्रालयबाट ५ लाख रुपिया को चेक पनि जिल्ला शिक्षा कार्यालयले सोही कार्यक्रममा प्राप्त गरेको छ । कार्यक्रमलाइ सभासदहरु परशुराम तामाङ,दिलमान पाख्रिन, अनौपचारिक शिक्षा केन्द्रका निर्देशक वावुराम पौडेलका साथै जिल्लाका राजनैतिक दलका प्रतिनिधि,शिक्षक संघ संगठनका प्रतिनिधि, सामाजिक क्षेत्रका प्रतिनिधिहरुले सम्वोधन गरेका थिए ।

२९ असार २०७१, आईतवार १४:५२ मा प्रकाशित

================================================================================

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।