गंगाजमुना ४ का सुजन सिंखडालाई प्रधानमन्त्रीले दिए फर्जि चेक

2833 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pm-ko-badamasi-1024x679काठमाडौं, १२ माघ  – प्रधानमन्त्री शेरबहादुर देउवा निकै तामझामका साथ बीर हस्पिटलस्थित ट्रमा सेन्टर पुगेर उपचाररत धादिङ गंगाजमुना ४ का सुजन सिंखडालाई अस्पतालको शैय्यामै पुगेर पाँच हजार रुपैयाको चेक दिए । प्रधानमन्त्रीको हातबाट चेक पाएपछि सुजनको परिवार निकै खुसी भयो ।

सरकारले आफूहरु जस्तो पीडितका परिवारलाई हेर्ने भयो भन्दै आशा पनि पलायो सिंखडा परिवारमा। उपचारको लागि ऋणको भारीले थिचेका परिवारमा मासिक पाँच हजार पाउने आशा थियो । तर त्यो खुसी क्षणभरमै समाप्त भयो, जव प्रधानमन्त्रीले दिएको चेक खोसियो । प्रधानमन्त्री देउवाले हस्तान्तरण गरेको चेक ट्रमा सेन्टरका प्रशासनले उनी जाँनेबित्तिकै खोसेर लग्यो । गाउँमा रुख काट्न जाँदा सुजन लडेर घाइते भएका थिए । रुखबाट खसेर उनको ढाड भाँचिएको थियो भने बाँया हात नचल्ने अवस्था पुगेको थियो । उपचारका लागि पुष ४ गते ट्रमा सेन्टर भर्ना भएका सुजनको स्पाइनलमा समस्या रहेका कारण उनी उठ्न समेत सकेका थिएनन् जनता टाईम्स डट कममा खबर छ ।

उपचारकै लागि गाउँमा चिनेका सबैसँग उनीहरुले ऋण माग्न भ्याइसकेका थिए । श्रीमानको यस्तो अवस्थाका कारण श्रीमती सिता सिंखडा निकै पीडामा थिइन । श्रीमान्को उपचारमा मात्रै उनले साढे तीनलाख खर्च भइसकेको बताइन् । उनी गाउँमा खेतिपाति छाडेर श्रीमान्को स्याहानमा खटिरहेकी छिन् । कमजोर आर्थिक अवस्थाका कारण श्रीमानको उपचारमै ऋणको भारी बोकिरहेका उनलाई बिहीवार साँझ प्रधानमन्त्री देउवाले शैयामै आएर चेक बाँडेपछि मनमा आशा पलाएको थियो । प्रधानमन्त्रीका साथमा स्वास्थ्य मन्त्री दीपक बोहरा र अस्पताल प्रशासनका कर्मचारीहरु समेत थिए ।

प्रधानमन्त्री देउवाको हातबाट चेक पाएपछि सिताको मन निकै प्रफुल्लित थियो भने श्रीमान्को उपचारमा लागेको ऋणको भारी हल्का हुने आशा थियो ।तर प्रधानमन्त्रीको हातबाट चेक पाएको केहीबेरमै ट्रमा सेन्टरको प्रशासनका एक कर्मचारीले अर्को व्यक्तिको चेक परेको कारण साटेर ल्याउने भन्दै सितासँग चेक लिएर गए । सिताले पनि आफ्नो श्रीमान्को नामको चेक अर्को व्यक्तिसँग परेको होला भनेर चुप लागिन् । तर त्यसो भएन । गल्तीले सुजनको हातमा प्रधानमन्त्रीले चेक बाँडेको भन्दै सुजनको नाममा चेक नरहेको श्रीमती सितालाई प्रशासनले जवाफ दियो । प्रशासनको यस्तो जवाफ सुनेर उनी निराश हुँदै फर्किन् ।

कम्मरमुनिको भाग नचल्ने अर्थात प्यारालाइसिस भएको स्पाइनलको बिरामीलाई मात्रै सरकारले रकम बाँडेको भन्दै प्रशासनले उनको श्रीमानलाई रकम दिन अस्वीकार गर्यो । प्रधानमन्त्री स्वयमको हातबाट चेक हस्तान्तरण गरेर सबै सञ्चारकर्मीले तस्वीर समेत लिइसकेको अवस्थामा प्रशासनले गल्ती भएको भन्दै दिइसकेको चेक फिर्ता लिँदा उनलाई अर्काे पीडा भएको छ ।पैसानदिन तर चेकको फोटो खिचाएर बदनाम गर्ने काम भएको छ उनीमाथि । ‘यदि पैसा दिनु नै थिएन् भने प्रधानमन्त्री स्वयमको हातबाट चेक बाँडेर हामीलाई किन आश्वासन दिनु ? किन बदनाम गर्नु ?’ उनको प्रश्न थियो ।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।