ज्ञानज्योती स्कूलमा धादिङ समाजको अक्षयकोष

897 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

27332643_1739287376123883_1696903476231057720_n ज्वालामुखी–पोखरा सम्पर्क समाजले धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ४, ढोला, टारीस्थित जनज्योती आधारभूत विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । अक्षयकोष रकम १ लाख ११ हजार १ सय ११ रुपैयाँको छ ।
शनिबार विद्यालयमा आयोजित १ कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनाको उपस्थितिमा समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष सुदर्शन बसौलाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकाजी तामाङ र प्रधानाध्यापक सुशिल तिमिल्सिनालाई अक्षयकोष रकम हस्तान्तरण गरे ।
आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको समाजका वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौलाले बताए । उनले आफूहरूको प्रयासबाट स्थापित सानो अक्षयकोष सही सदुपयोग हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका प्रमुख विनोद तिमिल्सिनाले सामाजिक एवं शैक्षिक क्षेत्रमा धादिङ समाजको योगदान महत्वपूर्ण रहेको भन्दै अक्षयकोष सही ठाउँमा प्रयोग हुने दावी गरे । उनले भने, ‘ज्याला मजदूरीहरूको पसिना खेर जान हुँदैन । यसको संरक्षणका लागि म पनि प्रयास गर्छु ।’ धादिङ समाज र गतिविधिप्रति आफू पूर्ण जानकार रहेको भन्दै उनले समाजमा अग्रणी भूमिका खेल्ने अग्रजको स्मरण समेत गरे ।
26992172_1739287796123841_2767858084031650774_nअर्को प्रसंगमा उनले विकास र समृद्धिमा नागरिक नै जागरुक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘स्थानीय नागरिक जागरुक भए गाउँपालिका सबै किसिमको सहयोग गर्न तयार छ । नागरिक अग्रसर नहुने हो भने विकास असम्भव छ ।’
विद्यालयका स्रोतव्यक्ति सुदर्शन भट्टले क्षय नहुने र गर्न पनि नमिल्ने भएकाले नै अक्षयकोष भनिएको भन्दै विद्यालयमा स्थापित अक्षयकोष निकै महत्वपूर्ण हुने बताए । उनले अक्षयकोषको सही ढंगले सञ्चालन गर्र्नुपर्ने र स्थानीय नागरिकले पनि त्यसमा रकम थप गरेर ठूलो बनाउनुपर्नेमा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक सुशिल तिमिल्सिनाले अक्षयकोषलाई सही ढंगले सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।
अक्षयकोष कार्यक्रम संयोजक यादूप्रसाद ढकालले सदरमुकाम नजिकै रहेर पनि ओझेलमा परेको विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकाजी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष कृष्णबहादुर गुरुङ, कांग्रेसका स्थानीय नेता चूडामणि अर्याल, एमाले नेता महेन्द्र अर्याल, समाजका महासचिव हरि पन्त, शिक्षिका गीता तिमिल्सिना लगायतले बोलेका थिए ।
उक्त अवसरमा कांग्रेस स्थानीय नेता चूडामणि अर्यालले समाजको अक्षयकोषमा १ हजार रुपैयाँ थप गरे ।
अक्षयकोष रकम हस्तान्तरणका लागि समाजका वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौलाको नेतृत्वमा कार्यसमिति सदस्य यादूप्रसाद ढकालको संयोजकत्वमा महासचिव हरि पन्त, सदस्यहरू सरस्वती श्रेष्ठ सरु, युगमराज अगस्ती, रामप्रसाद पाण्डे राजु, टीकाबहादुर सापकोटा, बलराम नेपाली, पूर्व कोषाध्यक्ष ढुण्डिराज मिश्र, पूर्वसदस्य अर्जुन भट्ट विद्यालयमा पुगेका थिए ।
२०४९ सालमा स्थापित विद्यालयमा हाल २९ विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक तिमिल्सिनाका अनुसार विद्यालयमा ४ शिक्षक छन् । २०७२ को महाभूकम्पपछि अति संकटपूर्ण अवस्थाबाट गुज्रिएको विद्यालयले बल्ल ४ कोठे नयाँ भवन पाएको छ । भूकम्पपछि बाँसको टहरामा चिसो भुइँमै बालबालिका पढाउनु परेको र आफूहरू पनि चिसो भुइँमै बस्नुपरेको उनले पीडा सुनाए ।
उनका अनुसार विद्यालयमा भएका डेक्स बेन्चहरू भूकम्पकै कारण पूर्ण क्षति भएकाले हाल एउटा पनि छैन । सानो र विकट ठाउँमा रहेको विद्यालय हुनाले कतैबाट पनि सहयोग नपाएको उनले गुनासो गरे । बल्ल बल्ल भवन बने पनि आफूहरू अझै पनि चिसो भुइँमै पढ्ने र बढाउनुपर्ने बाध्यतामा रहेको उनले सुनाए ।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।