एमाले र माओवादी केन्द्र पार्टी एकतामा सात बुँदे सहमति

1529 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kp-prachanda-1922018083159-1000x0काठमाडौँ ,फाल्गुन ८ — नेपालका दुई ठूला कम्युनिष्ठ पार्टी बिच एकता हुने सहमति भएको छ । सोमबार राती अवेर प्रधानमन्त्री  निवास वालुवाटारमा दुई पार्टीका शिर्ष नेताहरुका बिच सहमति पत्रमा हस्ताक्षर भएको छ । बाम गठबन्धनका प्रमुख दुई दल एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातिसम्म भएको पार्टी एकता संयोजन समितिको बैठकपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सात बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा ओली र दाहालसहित पार्टी एकता संयोजन समितिका सदस्यहरु एमाले नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम तथा ईश्वर पोखरेल तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।
दुई दलबीच पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ भने पार्टीको निर्देशन सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ।
एमालेले अपनाउँदै आएको पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)मा माओवादी केन्द्रको पनि समान धारणा रहेको उल्लेख गर्दै सहमतिपत्रमा भनिएको छ, ‘एमालेले अबलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवाद र एक्काइसौं शताब्दीको जनवादसम्बन्धि विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ।’
दुई पार्टीबीच अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ। पार्टीको मुल नेतृत्वका विषयमा सहमतिपत्रमा किटान गरिएको छैन। बैठकबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने नेतृत्वका विषयमा यसो भने, ‘महाधिवेशन नभएसम्म दुवै अध्यक्षकारुपमा रहनेछौं, बैठक पालैपालो अध्यक्षता गर्ने सहमति भएको छ।’
एमाले र माओवादी केन्द्रबीच राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामािजक आर्थिक रुपान्तरणमार्फत समाजवादका आधार निर्माण गर्ने तथा आगामी पार्टी महाधिवेशनलाई एकताको महाधिवेशनकारुपमा समझदारीका साथ भव्यरुपमा सम्पन्न गर्ने उल्लेख छ।