राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट !

1227 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Fake-currency-nepal-5a95378e872a88.40851167

सक्कली र नक्कली छुट्याउनै गाह्रो

काठमाडौं: दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए।

औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो। उनले तत्कालै प्रहरीमा खबर गरे । कालिमाटी वृत्तको प्रहरीले औषधि खरिद गर्ने धनुषाका धीरजबहादुर ठकुरी र भोजपुर खावाका निगम राईलाई पक्राउ गर्‍यो।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा लगेर उनीहरुलाई केरकार गरेपछि नोट दिने एमएस मोटरसाइकल ग्यारेजका सञ्चालक मनोज केसीको नाम पोले । प्रहरीले केसीलाई सोमबार एकथान पाँच सयको जाली नोटसहित पक्राउ गर्‍यो ।

केसीले सोलु तिम्ला घर भई कपन बस्ने भेषकुमार थापामगरको नाम पोले । थापामगरले अन्य दुई युवाको नाम पोले । रामेछाप नागदहका नेमा तामाङ र ललितपुर ताल्छिखेलका आशीष माझीबाट आफूले जाली नोट लिएको थापामगरले बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरे।

थापामगरबाट प्रहरीले पाँच सय रुपैयाँ दरको २१ थान जाली नोट बरामद गर्‍यो । तामाङ र माझीबाट भने प्रहरीले एक हजार दरको दुई थान नोट बरामद गर्‍यो । प्रहरीसँगको बयानमा तामाङले वीरगन्जबाट उक्त नोट राजधानी ल्याएको बयान प्रहरीमा दिएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार पक्राउमध्ये थापा नेपाली सेनाको जवान हुन् भने तामाङ नेपाल प्रहरीकै पूर्वजवान हुन् । तामाङ यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा जाली नोटसम्बन्धी अनुसन्धान गर्ने पिलरमा काम गर्दै आएका थिए ।

पाँचजनाबाट प्रहरीले पाँच सय दरका ३८ थान र हजार दरका दुई थान जाली नोट बरामद गरेको छ । तामाङले दिएको बयानमा भारतमै यी नोटहरु छापिएर नेपाल भित्रिँदै आएका छन् ।

रक्सौलका एक रिक्सा चालकले नेपालतर्फ जाली नोट कारोबार गर्दै आएका छन् । प्रहरीले रक्सौलका ती रिक्सा चालकलाई समेत पक्राउ गर्न टोली खटाएको छ । बरामद नोटको फिनिसिङ देख्दा प्रहरी पनि छक्क पर्‍यो । साधारण दृष्टिले यी नोट सक्कली वा नक्कली छुट्याउन सजिलो छैन ।

‘जाली नोटका कारोबारीको बयानबाट हामी छक्क पर्‍यौं’, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल भन्छन्, ‘उनीहरुले बयान दिए अनुसार राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट भित्रिएको छ। हामी थप अनुसन्धान गर्दैछौं।’(अन्नपूर्ण पोस्ट)