विस्थापित २४ घरधुरीलाई जग्गा र लालपूर्जा

1120 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lalpurjaधादिङ, १८ फागुन -भुकम्पका कारण विस्थापित हुन पुगेका धादिङका २४ घरधुरीले जग्गा र लालपुर्जा पाएका छन् ।
धादिङ जिल्लाको उत्तरी भेगको अति विकटमा पर्ने साविकका पाँच गाविस तिप्लिङ,सेर्तुङ,लापा,झार्लाङ, रि गाउँका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न तत्कालिन सभासद्हरुको टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो ।
पाँच गाविसका मानिसलाई भूकम्पपछि बर्खायाममा पहिरोको जोखिम भएकाले तत्काल नै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको थियो । तत्कालिन सभासद्हरु दिलमान पाख्रिन, धनबहादुर घले, पररशुराम तामाङ र पुष्पविक्रम मल्लको टोली भुकम्प पछि गाउँमा गईे अध्ययन गरी बस्ति स्थानान्तरण गर्न सिफारिस गरेको थियो ।
भूकम्प र भूकम्पपछिको निरन्तरको पराकम्पन्न तथा पहिरोको कारण उत्तरी धादिङका धेरैवटा बस्तिका वासिन्दा विस्थापित भएका थिए । रुविभ्याली गाउँपालिका–५, धादिङकी शान्तिमाया तामाङ भूकम्पपछि जिल्लाको सदरमुकाम धादिङबेशीमा डेरा लिएर बस्दै आईरहनु भएको छ । ‘ज्याला मजदूरी गरेर मुस्किलले दुई छाकको जोहो भएको छ’, तामाङ भन्नुहुन्छ, ‘सरकारले जग्गा किन्न दिएको २ लाख रकमले गाउँ नजिकै बस्न योग्य ठाउँमा ५ आना जग्गा किनेको छु । अब गाउँमा फर्केर घर बनाउने हो ।’
गाउँमा भएको भए खेतीपाती गरेरै भए पनि सजिलै खान पुग्थ्यो । शहरमा दिनभरि काम गरे पनि राम्रोसँग खान नपुग्ने शान्तिमायाले बताउनु भयो । धादिङ जिल्लामा सरकारले पहिलो चरणमा जग्गा किन्न २ लाख रकम पाउने सूचीमा २ सय जनाको नाम सार्वजनिक गरेको थियो । अहिलेसम्म २ सय जना प्रभावित मध्ये २४ जना प्रभावितहरुले आवश्यक प्रक्रिया तथा मापदण्ड पूरा गरेपछि जग्गा किन्न २/२ लाख रुपैयाँ पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङका प्रमुख रविचन्द्र पञ्जियारले बताउनु भयो ।
सरकारले जोखिम बस्तीका बासिन्दा र भूकम्पका कारण घर बनाउने जग्गा नभएका प्रभावितको लागि बढीमा २ लाख रकम दिएको हो । प्रभावितहरुको साविकको भन्दा अन्य ठाउँमा बस्न योग्य जग्गा जमिन नभएको वडा कार्यालय र पालिकाले प्रमाणित गरेपछि मात्र २ लाख रुपैयाँ पाउन योग्य ठहरिएका हुन । सामुदायिक आत्मनिर्भर सेवा केन्द्र धादिङले जग्गा खरिद गर्न अनुदान रकम पाइने फारमदेखि जग्गा पास गर्ने चरणसम्म सहजीकरण गरिरहेको छ ।
प्रभावितले २ लाख रुपैयाँमा जग्गा किन्न श्रीमान श्रीमतीको नाममा संयुक्त लालपूर्जा लिनुपर्ने हुन्छ । संयुक्त लालपूर्जा र लिखतको आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा बिक्री गर्ने जग्गा धनीलाई बैङ्क खातामा चेक मार्फत रकम जम्मा गर्ने गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धादिङका प्रमुख पञ्जियारले जानकारी दिनुभयो ।
जिल्लाको साविकको तिप्लिङ, सेर्तुङ, लापा, रिगाउँ, झार्लाङ गाविसमा करिब १० वटा बस्तिहरुको पुनः भौगर्विक सर्वेक्षण भएको छ । तर, केन्द्रिय प्राधिकरणबाट अध्ययनको नतिजा भने प्रकाशन हुन बाँकी रहेको बताइएको छ ।
भूकम्पले हल्लाएका ठुला ठुुला ढुङ्गाहरु अनि त्यहि पहाड भन्दा तल बस्ती भएकाले कति खेर त्यो पहाड झर्छ र चेप्छ भन्ने त्रास त्रासमा रहेका विस्थापित हरुको लागि पुर्नस्थापना जरुरी भएको गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलवहादुर अधिकारी बताउनुहुन्छ ।