धादिङ महोत्सवको रौनक हात्तीले बढायो

1409 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज डट कम

धादिङ — सदरमुकाममा गत बुधबारदेखि सुरु भएको धादिङ महोत्सवमा हात्ती सफारीले रौनक थपेको छ । आयोजकले सौराहादेखि ‘पुनमकली’ नामको हात्तीलाई दैनिक ४० हजार भाडा तिरेर जिल्लामा पहिलोपटक ल्याएका हुन् ।

img8777-0232018025729-1000x0
महोत्सवको प्रमुख आकर्षणका रुपमा रहेको हात्ती सफारीप्रति सहभागीको भीड लाग्ने गरेको छ। हात्ती सफारीसँगै मकैको खीर, हेलिकप्टरबाट जिल्लाको उत्तरी भेक स्थित हिमाल लगायत रमणीय स्थलहरुको अवलोकन र स्थानीय कृषकहरुबीच कृषि उत्पादनबारेका प्रतिस्पर्धाले पनि महोत्सवप्रति स्थानीयको चासो बढेको छ।
महोत्सव स्वरोजारका लागि युवालाई आकर्षित गर्ने, जिल्लाको पर्यटन प्रवर्द्धन, जडीबुटी उत्पादन, खनिजजन्य उत्पादनलाई प्रचारप्रसार एवं व्यवस्थित गर्ने उद्देश्यले साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला शाखाले आयोजना गरेको हो। ‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहाना’ भन्ने नाराको साथ गत बुधबारदेखि सुरु भएको धादिङ महोत्सव २७ गतेसम्म चल्नेछ।
महोत्सवमा करिव २ लाख सहभागी हुने र १० करोडको कारोबार गर्ने लक्ष्य राखेको आयोजक समितिका अध्यक्ष रामलाल श्रेष्ठले बताए। महोत्सवका २ सय २२ स्टलमा १ सय ८० स्टल व्यापारिक प्रयोजनको लागि राखिएको छ भने २० वटा स्टल जिल्लाका महत्वपूर्ण मौलिक उत्पादन तथा वस्तुहरुको प्रर्दशनीका लागि राखिएको छ। ‘व्यापारिक हिसाबले स्टल राख्ने स्थानीयहरुलाई छुटको व्यवस्था गरेका छौं।’ आयोजक समितिका अध्यक्ष श्रेष्ठले भने, ‘प्रदर्शनी मात्रै गरिने स्थानीय उत्पादनहरुको स्टललाई हामी निःशुल्क गरेका छौं।’
महोत्सवमा कृषि प्रदर्शनी तथा बिक्री, दूध तथा दूग्धजन्य पदार्थको प्रदर्शनी तथा बिक्री, घरेलु व्यवसायीहरुको विशेष स्टलहरु, हस्तकला प्रदर्शनी तथा बिक्रीलाई प्राथमिकता दिइएको छ। आगामी आइतबार बंगलादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, नेपाल इन्डोनेसिया, इजरायल, इटली, मलेसिया, टर्की लगायतका देशहरुका कलाकारहरुको कला तथा संगीत प्रदर्शनी रहनेछ, महोत्सवमा राष्ट्रिय तथा स्थानीय नाम चलेका कलाकारहरुको संस्कृतिक प्रस्तुती देखाइने आयोजकले जनाएको कान्तिपुर डेलि डट कममा खबर छ ।