नुवाकोटमा दुर्घटना, २ को मृत्यु १७ घाइते

648 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट, २७ फागुन -नुवाकोटमा आइतबार भएको छुट्टाछुट्टै तीनवटा दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
त्रिशूलीबाट काठमाडौतर्फ जांदै गरेको बा ४ख ७९८ नं.को वसको ठक्करबाट विदुर नपा – २ बट्टारमा विदुर नपा–३ फिर्केपका ७६ वर्षिय ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो । वसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रु श्रेष्ठको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
चालक विदुर नपा वडा नं. १२ का २७ वर्षिय सविन भुजेललाई नियन्त्रणमा लिएको छ । मृतकको आफन्तले ठक्कर दिने वस तथा चालकलाई कानुन अनुसारको कारवाही गर्नु पर्ने र मृतकका परिवारलाई वसधनीले उचित क्षतिपुर्ति दिनुपर्ने माग गर्दैैै बट्टारमा पाँच घण्टा सडक अबरोध समेत गरेका थिए ।
यस्तै आइतबार नै बेलकोटगढी नपा–७ कल्चडीस्थित गल्छी त्रिशूली सडक खण्डमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
गल्छीतर्फ जांदै गरेको वा ३ ख ६६६७ नम्वरको ट्रिपरले कल्चेडीमा वा ७० प ४४२७ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक विदुर नपा– ९ कोलोनीका तीलकवहादुर मिजारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कुंवरले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिएको ट्रिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, त्रिशूली–देवीघाट–गल्छी सडकखण्डको विदुर नगरपालिका वडा नं. ५ पिपलटारमा आइतवार दिउँसो त्रिशूलीबाट देवीघाट जादै गरेको बा १ ख ६५१९ नम्वरको लोकल वस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
घाइते १७ मध्ये गम्भीर अवस्थाका दुई जनालाई काठमाडौ लगिएको छ भने १३ जनाको विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टर, दुई जनाको वट्टारस्थित सन्जीवनी उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताएको प्रहरीले जनाएको छ ।