अवैधानिक रुपमा सञ्चालित धादिङका क्रसर र बालुवा खानी बन्द गरिदैं, उद्योगमा विद्युत् लाइन काटियो

3302 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

स्थानीय प्रशासनले अवैधानिक रुपमा सञ्चालित धादिङका क्रसर र बालुवा खानीे बन्द गर्न सुरु गरेको छ ।
पहिलो चरणमा स्थानीय प्रशासनले बालुवा प्रशोधनका लागि राखिएका जिल्लाभरीका सबै फिरफिरे उद्योगको विद्युत् लाइन काटिदिएको छ ।  धादिङ जिल्लामा सञ्चालित क्रसर र वालुवा धुने फिरफिरेको बिद्युत्त लाइन काटिएको छ ।
जिल्ला भित्र संचालित क्रसर र वालुवा धुने उद्योग गैर कानूनी ढंगबाट सञ्चालन हुनुका साथै सडक,नदी तथा खोला र सार्वजनिक जग्गा अतिक्रमण गरी व्यवसाय सञ्चालन भइरहेको जनगुनासो बढेपछि जिल्लाभरका त्यस्ता उद्योगहरुको बिद्युत्त लाइन काटेर अनुसन्धान शुरु गरिएको हो ।
पृथ्वीराजमार्ग छेउछाउ र त्रिशूली नदी,मलेखु खोला, आग्राखोला आसपासमा मापदण्ड विपरित संचालनमा रहेका २९ वटा क्रसर र ५६ वटा वालुवा धुने फिरफिरेकोे विद्युत लाइन काटिएको नेपाल बिद्युत्त प्राधिकरण जिल्ला शाखा धादिङले जनाएको छ ।राजमार्ग क्षेत्रमा मात्रै ७३ वटा बालुवा धुने फिरफिरे उद्योग दर्ता छन् ।
जिल्ला स्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले आईतबार सम्म सम्म २९ वटा क्रसर उद्योग र ६५ वटा बालुवा प्रशोधन केन्द्र ( फिरफिरे)को विद्युत लाइन काटेको हो । मापदण्ड बाहिर संचालनमा रहेका अवैध बालुवा प्रशोधन केन्द्रको लापरबाहीका कारण त्रिशूली नदीमा प्रदुषण बढेको र स्थानीय जनजिवनमा समेत समस्या परेको विषयमा व्यापक गुनासो आउन थालेपछि प्रशासनले अनुगमन गरेको हो । अनुगमनका क्रममा यस्ता क्रसर र बालुवा धुने उद्योग फर्र्जी र मापदण्डविपरित सञ्चालन भईरहेको समेत भेटिएकाले ति सबैलाई कानूनी प्रक्रिया पुरा गरी नयाँ मापदण्ड तोकेर मात्रै सञ्चालन गर्न दिने गरी अहिलेलाई बिद्युत्त लाइन काटिएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वताउनु भयो ।
जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समिति र नेपाल विद्युत्त प्राधिकरणमा पेस गरिएका कागजात बमोजिम उद्योगहरू सञ्चालन नभएका कारण अनुगमनलाई तिव्र पारि कारवाही शुरु गर्नु परेको प्रमुख जिल्ला अधिकारी भण्डारीले वताउनु भयो ।
चालु आर्थिक बर्ष लागेपछि तीन पटकसम्म जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गरिएको संयुक्त अनुगमनमा उद्योग दर्ता गरिएका कागजात, उद्योग स्थापना गर्ने जग्गाको लालपुर्जा सक्कली भए पनि सञ्चालन गरिएका उद्योगहरूले सरकारी सार्वजनिक जग्गा, त्रिशूली र अन्य खोलाका बगर मिचेको पाइएको अनुगमन प्रतिगमनमा उल्लेख छ । बिजुली जडान गर्दा उद्योगहरूले विद्युत्त प्राधिकरणमा पेस गरिएको लालपुर्जामा अधिकांश उद्योगहरू फेला नपरेको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत राममणि मिश्रले बताउनु भयो ।
नेपाल विद्युत्त प्राधिकरण र उद्योगीहरूको मिलोमतोमै सार्वजनिक जग्गाहरूमै उद्योगको नाममा विद्युत्त ट्रान्सफर्मर जडान गरिएका, ब्लक बनाउने र कुटानी पिसानी मिल सञ्चालनको नाममा उद्योग गर्ता गरी बालुवा धुने उद्योगमा विद्यत्त जडान गरिएको अनुगमनका क्रममा फेला परेको मिश्र वताउनुहुन्छ ।
दैनिक १७ देखि २४ ट्रिपर मात्रै बालुवा उत्खनन गर्ने इजाजत पाएका खानीले दैनिक २ सयभन्दा बढी ट्रिपर बालुवा बेच्ने र क्रेतालाई भ्याट बिल नदिने गरेको अनुगमनका क्रममा भेटिएको स्थानीय प्रशासनले जनाएको छ । यसै गरी वर्षमा १ सय १० देखि ६ सय ६० घनमिटर बालुवा दैनिक १ देखि ३ घण्टा मात्रै धुन पाउने इजाजत पाएका बालुवा धुने उद्योगहरूले रातभर बालुवा धोएर राजस्व चुहावट गरिरहेकाले त्यस्ता अवैध कार्य नियन्त्रण गर्न र त्रिशूली नदी प्रदूषणबाट बचाउन संयुक्त अनुगमन र नियमलाई कडाईका साथ लागू गर्न थालिएको जिल्ला समन्वय समिति धादिङका संयोजक जगन्नाथ नेपालले बताउनु भयो ।
त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आसपास क्षेत्रमा सञ्चालित अधिकांश क्रसर र फिरफिरेहरु उद्योगका रुपमा दर्ता भएपनि उनिहरु गैरकानुनी ढंगबाट चलिरहेका छन । यी क्रसर उद्योग र फिरफिरेहरुले त्रिशुली नदी, मलेखु, गलौंदी, बेल्खु, महेश, कोल्फु आग्रा लगायतका खोलाबाट बर्षैभरी अवैध रुपमा ढुङ्गा र वालुवा उत्खनन गर्दै आएका छन् । यस्ता उद्योगका कारण त्रिशुली नदीको संरचना बिग्रेको र वातावरणीय विनाश समेत बढ्दै गएको छ ।
राजमार्ग क्षेत्र, मलेखु, बेनिघाट, गजुरी, बैरेनी, भुमेस्थान, नौबिसे, जीवनपुर, थाँक्रे, तसर्पु, गोगनपानी, पीडा लगायतका स्थानमा संचालित खानीबाट दैनिक पाँच सयभन्दा बढी टिफरले ढुंगा, गिट्टी, बालुवा निकासी गर्दै आइरहेको भएपनि अधिकांशले राजस्व छल्ने गरेको पाईएको छ । धादिङ जिल्लामा ०४२ सालदेखि ढुंगा, गिट्टी, बालुवाको उत्खनन सुरु भएको मानिन्छ ।
जिल्लामा दर्ता भएका खानीले पनि सर्वाेच्च अदालतको आदेश विपरित अबैध रुपमा ढुंगा, गिट्टी बालुवा उत्खनन गरेर बिक्री गरिरहेका छन । सर्वोच्च अदालतले ०६७ साउन २१ मा वातावरण नै प्रदुषित गरेर वा प्राकृतिक श्रोत निकाल्दा बस्ती, सडक, पानीको मुहानलाई असर पार्ने गरी चलाएका उद्योग तत्काल रोक्न आदेश दिएको भएपनि त्यो आदेश अहिले सम्म कार्यान्वयन नभएको वाताबरण संरक्षणकर्मीहरुको गुनासो छ ।
क्रसर उद्योगहरुले मापदण्डविपरित नदीजन्य वस्तु उत्खनन् गरेको र बालुवा धुने फिरफिरेले फोहोर पानीको व्यवस्थापन नगरेको गुनासो आएपछि प्रशासनले कडा नीति अबलम्बन गरेको हो ।
 धादिङमा दुई सयभन्दा धेरै बालुवा प्रसोधन गर्ने फिरफिरे उद्योग, र ३९ वटा क्रसर उद्योग सञ्चालनमा छन् ।