बिकटको बस्ति ब्रुसबाङ नजिकै पुग्यो मोटर

1950 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ब्रुसबाङ। दक्षिणी धादिङको अति विकटमा रहेको ब्रुसबाङ गाउलाईँ मोटरवाटोले नजिक बनाएको छ । बेनिघाट रोराङ गाउँपालिकामा पर्ने ब्रुसबाङ गाउँको सिमानामा रहेको चितवनको राप्ती नगरपालिकाको भाँजा गाउँ सम्म मोटर बाटो पुगेपछि र धादिङको वेनिघाट रोराङको ब्रुसबाङ, चोतेश लगायतका गाउँबस्तीमा परिवर्तनहरु देखिएका छन् । चितवन र धादिङको सिमानामा पर्ने विकट बस्तीमा मोटर गुड्ने बाटो बनेपछि स्थानीयहरु किनमेलको लागि दिनभर हिंडेर भण्डारा  धादिङको मलेखु बजार,ताल्ति पुग्नुपर्ने बाध्यता हटेको छ ।जिल्लाकै अति बिकटको बस्ति भनेर चिनिएको ब्रुसबाङका वासिन्दालाई समेत यो सडकले प्रत्यक्ष फाईदा पुग्ने विश्वास गरिएको छ । यस अघि वजार पुग्न कम्तिमा ५ घण्टा हिंड्नु पर्ने वाध्यता रहेकोमा अहिले गाउँबाट आधाघण्टाको दुरीमा मोटर पुग्नुका साथै पसल समेत चलेपछि गाउँवासीलाई सजिलो भएको हो ।
गाउँमा उत्पादित डोको,मान्द्रो,नाम्लो, कुचो लगायतका सामाग्री बेच्नका लागि भारी वोकेर वजार जानु पर्ने वाध्यता हटेपछि धादिङ र चितवन जिल्लाको विटकमा रहेका चेपाङहरुलाई राहत भएको हो ।
‘मोटर बाटो नबन्दा नुन ल्याउन दुई दिन लगाएर मलेखु वा लोथरसम्म पुग्नुपर्ने अवस्था थियो । अहिले त्यो बाध्यता हटेको छ । गाउँमै किनमेल गर्न पाएका छौँ’  स्थानीय भीमबहादुर चेपाङले भने, ‘अहिले गाउँलेलाई धेरै सजिलो भएको छ । गाउँमै ट्याक्टर, फोरह्विल जिपहरु सामान लिएर आइपुग्दा गाउँलेका सारा दुःख हटेको छ ।’
भाजाकै स्थानीय सुनीता चेपाङ पनि दिनभरिको पैदल यात्रा गरेर लोथर वा मलेखु पुगेर भोलिपल्ट बिहानै खाद्यान्न बोकेर फर्कनुपर्ने बाध्यता हट्दा निकै खुसी भएकी छन् । त्यतिबेलाको कष्ट इतिहास भएको उनी बताउँछन् । उनी भन्छिन्, ‘हप्तामा एकदुई सवारी साधन आउँदा पनि गाउँलेले भारी बोकेर सामान ढुवानी गर्न परेको छैन ।’
बाटो बनेपछि भाजाको डाँडामा सुनीताले सानो किराना पसल  र होटल पनि चलाएकी छन् । उनकै पसलको सामान लिएर हप्तामा एकपल्ट जिप आइपुग्छ । चेपाङले भनिन्, ‘अहिले नुनतेल किन्न दुई दिन खर्चिनुपरेको छैन । डोको बोकेर मलेखु र लोथर पुग्नुपरेको छैन ।’यहाँ अहिले मलेखु र भण्डारा दुवै तर्फबाट मोटर चल्न थालेको छ ।
बाटो खुलेपछि आसपासका स्थानीयलाई धेरै सजिलो भएको अर्की स्थानीय गोपीमाया चेपाङ बताउँछिन् । भण्डारा–मलेखु चेपाङ राजमार्गको ट्रयाक विस्तार भएपछि तीन वर्षअघि कान्द्राङगढी–भाजाबाट मकवानपुरको पालुङ जोड्ने गरी नयाँ ट्रयाक पनि खुलेको छ । चितवन र धादिङ जिल्लाकै विकट मानिने भाजा साविक लोथर गाविस–५ मा पर्दछ ।