राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेल नियुक्त

2504 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा धादिङ रिचोकटारका डा. पुष्पराज कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

नेकपा एमालेको लेखा आयोगका अध्यक्ष  तथा स्थायी  कमिटीका पदेन सदस्य समेत रहेका कँडेल अर्थविद हुन् ।

मन्त्रीपरिषदले  आयोगको रिक्त सदस्य पदमा समेत ६ जनालाई नियुक्त गरेको छ । आयोगको सदस्यको रुपमा  मीनबहादुर शाही, रामकुमार फूँयाल, कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ र सुशील भट्ट  नियुक्त भएका बैठकपछि  सरकारका प्रवक्ता तथा संचार राज्यमन्त्री गोकुल  बास्कोटाले जानकारी दिए ।

को हुन कँडेल

स्थायी समितिमा रहेका नेताहरु मध्ये डा. पुष्प कँडेल मात्र यस अघि कुनै पनि सार्वजनिक नियुक्ति नलिएका नेता हुन् । कँडेल २०४९ सालमा पहिलोपटक पार्टीको आन्तरिक लेखा प्रणालीलाई व्यवस्थित गर्न बनेको केन्द्रीय लेखा आयोगमा सदस्य भए यता निरन्तर पार्टीको केन्द्रीय तहमा जिम्मेवारी संहाल्दै आएका छन् ।

लेखा आयोगमा दुई कार्यकाल सदस्य एक कार्यकाल सचिव र पार्टीको आठौं र नवौं महाधिवेशनबाट दुई कार्यकाल निर्वाचित अध्यक्ष र स्थायी समितिमा आमन्त्रित सदस्य छन् ।

पार्टीको ८ औं राष्ट्रिय महाधिवेशन (बुटवल महाधिवेशन) मा संघीयताको विपक्षमा फरक मत दर्ज गरेर चर्चामा आएका कँडेल केपी ओलीको टीमका थिंकट्यांक हुन् । पार्टीमा नरम स्वभाव र सतहमा देखिनेगरी गुटबन्दीमा नलाग्ने उनी बुटवल माधिवेशन देखि ओलीको खास टीममा रहँदै आएका छन् ।

त्रिविमा व्यवस्थापन संकायका प्राध्यापक उनी ३२ वर्ष प्राध्यापन सेवा गरेका अनुभवी र बौद्धिक नेता हुन् । कर प्रशासनमा विद्यावारिधी गरेका अर्थविद् कँडेल आर्थिक विश्लेषक हुन् । कँडेलले १३ वटा पुस्तक लेखिसकेका छन् ।

धादिङ मलेखुमा जन्मिएका कँडेल विद्यार्थी राजनीति, सम्पर्क मञ्चको संस्थापक हुँदै पार्टी केन्द्रीय कमिटीमा प्रवेश गर्दा नै पार्टीको हिसाव किताव चुस्त राख्नको निम्ति पाँचौं महाधिवेशन पश्चात मदन भण्डारीको प्रस्तावमा २०४९ मा केन्द्रीय लेखा आयोगको सदस्य भएका थिए ।

पार्टी नेतृत्वमा रहेका अर्थविद् कँडेल निष्कलंक, निर्विवादित र परिक्षण नभएका कारण यस पटक पार्टी नेतृत्व र आम कार्यकर्ताले डा. कँडेलको नियुक्तिलाई चासोका साथ हेरेका थिए ।