धादिङमा ज्यान मुद्धाका दुई आरोपी पक्राउ

1427 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १४ बैशाख – जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न घटनाका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार ११ वर्षअघि डाँका मुद्धामा फरार रहेका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ३६ वर्षीय सूर्यबहादुर तामाङलाई पक्राउ गरेको छ । तामाङलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो । तामाङलाई आवश्यक कारबाहीका लागि धादिङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए । तामाङलाई २०७० माघ ५ गते जिल्ला अदालतबाट ६ वर्ष कैद र १ लाख १० हजार ६ सय २५ जरिवाना तोकिएकोमा फैसला पछि तामाङ फरार रहँदै आएको सूचनाको आधारमा पक्राउ गरि अदालतमा बुझाईएकोमा फैसला कार्यान्वयनका लागि निजलाई जेल चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
यसै गरी ज्यान मारी फरार रहेका अर्का एक जनालाई पनि प्रहरीले पक्राउ परेको छ । २०६१ साल कात्तिक १२ गते धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका ५ बुङकोटघाटमा धारिलो हतियार प्रयोग गरी यमबहादुर विकलाई हत्या गरिएको अभियोगमा सोही ठाउँका यमबहादुर अर्घुले मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पक्राउ परेका मगरको बिषयमा अनुसन्धान जारी रहेकाले निजलाई पनि शुक्रवार जिल्ला अदालत पेश गरेकोमा अदालतले अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएकाले थुनामा पठाईएको छ ।
त्यसैगरी सवारी चेकजाँच गर्ने क्रममा पृथ्वी राजमार्गको जोगिमाराबाट भेटिएको लागु औषध निट्रोसम १० लेखिएको १० वटा ट्याबलेट भएको ३० पत्तामा ३०० ट्यावलेट सहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा मोरङ बिराटनगरका १८ वर्षीय विवेक पोखरेल, तनहुँ बन्दिपुर बस्ने १६ वर्षीय सुदिप गुरुङ, काठमाडौँ घर भएका २२ वर्षीय कृष्ण गौतम रहेका छन् ।