महादेवबेसी नजिकै चारवटा सवारी आपसमा ठोक्किदाँ आगलागी (फोटो फिचर सहित)

1668 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १९ बैशाख – धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसी नजिकै पृथ्वीराजमार्गमा बुधवार विहान १० वजे तिर गुडिरहेका चारवटा सवारी साधन एक आपसमा ठोक्किदाँ आगलागी भएको छ । आगलागीबाट २ जना घाईते भएका छन् ।
इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल ठोक्किन आउँदा सो मोटरसाइकलाई जोगाउने क्रममा काठमाण्डौंबाट गजुरी तर्फ आउँदै गरेको बा २ ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा ठक्कर खानपुगेकोे थियो ।
तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना भएको स्थानमा धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको अनियन्त्रित भएर ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । मोटरसाइकल ट्रकमा ठोक्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल जलेको स्थानीयले वताए । बिच सडकमा मोटर जल्न थालेपछि अन्य सवारी साधनमा यात्रा गरिरहेका यात्रु र स्थानीय समेत त्रसित हुन पुगेका थिए ।
घटनामा दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक अन्दाजी २९ वर्षीय रेखबहादुर बस्नेत र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय प्रेमबहादुर भुजेल छन् । घाईतेलाई उपचारकालागि काठमाण्डौं पठाईएको छ । दुर्घटना पश्चात केही बेर पृथ्वीराजमार्ग अवरुद्ध हुनपुगेको थियो ।

 

(फोटो फिचर)
बुधवार विहान धादिङको थांक्रे गाउँपालिका वडा नम्बर २ स्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटना पश्चात आगलागी भएपछिको केही दृष्यहरु