गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने अन्तर्राष्ट्रिय नाका उद्घाटन

801 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएकाे छ।

राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडकखण्डको मैलुङ–स्याफू बेँसी सडककाे अाज बिहान ९ बजे मैलुङमा रिबन काटेर रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका  मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले जनाएको छ।

उद्घाटनका लागि रक्षामन्त्री पोखरेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ गएकाे निर्माण कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी सञ्जय केसीले बताए । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा जाने कार्यक्रम रहेपनि उनी उपस्थित भएनन।

सडक उद्घाटन भएपछि गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडक योजनालाई आजै सडक हस्तान्तरण गरिनेछ । मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी केसीले बताए।

सुरुवातमा ७ किलोमिटर सिङ्गल लेनको सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो।

‘सुरुमा हामीले ७ किलोमिटर सिङ्गल लेनको सडक निर्माण गर्ने जिम्मेवारी पाएका थियौँ, प्रमुख एंवम प्राविधिक सेनानी केसीले भने, पछि १० किलोमिटर सडक थप हुनुका साथै डबल लेन बनाउने जिम्मेवारी थपियो।’

तोकिएको समयमा नै सडक निर्माण सम्पन्न गरिएको उनले बताए । दुई वर्षसम्म बर्खाको समयमा चार महिना सवारी साधन सञ्चालन नगर्न सेनाले अनुरोध गरेको छ । १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक सिङ्गल लेनको बनाएको छ।

सबैभन्दा छोटो दूरी 
यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती नरहेको निर्माण कार्यदलले जनाएको छ । काठमाण्डौदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्र १६ किमी दूरी रहेको छ।

काठमाडौंबाट बेत्रावती धुन्चे रसुवगढीको दूरी १४५ किलोमिटर रहेको छ भने काठमाण्डौबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किलोमिटर मात्र हुने छ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न नपर्ने प्रमुख एंवम प्राविधिक सेनानी केसीले बताए।

प्रतिकिलो किलोमिटर साढे तीन करोड लागत
मैलुङ–स्याफ्रुबेसी सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार खर्च भएको छ । १७ किलोमिटर दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटर सडक निर्माणमा तीन करोड ९० लाख खर्च भएको सेनाले जनाएको छ । सडक निर्माणका लागि अपुग भएको दुई करोड रकम अपुग आएको कार्यदलले जानकारी दिएको छ । नयाँ सडक निर्माण, सडकको स्तरोन्नती र बेलिब्रिज निर्माणमा रकम खर्च भएको हो।

-नागरिक न्यूज डट कमबाट