गल्छी गाउँपालिकाद्धारा ‘स्थानीय राजपत्र ” जारी

3515 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी –  धादिङको गल्छी गाउँपालिकाले स्थानीय राजपत्र   जारी गरेको छ । स्थानीय सरकार ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरि गाउँ कार्यपालिकाले गल्छी राजपत्र–२०७४ जारी गरेको हो । ५ वटा फरक फरक बिषयको सो राजपत्र गत चैत १५ गते  प्रकाशित गरिएको गाउँपालिकाले जनाएको छ ।
गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यबिक्रम पौडेलका  अनुसार जारी राजपत्र अनुसार गाउँपालिकाले कार्य सञ्चालन गरिआएको छ । स्थानीय सरकार ऐनको प्रयोग गरि राजपत्र जारी गर्ने गल्छी  धादिङ जिल्लाकै पहिलो पहिलो गाउँ भएको प्रशासकीय अधिकृत पौडेलको दावी छ ।

नेपालको संविधानको अनुसूची ८, ९ मा उल्लेख भएका सूची अन्तर्गतका विषयमा तथा कानुन बमोजिम स्थानीय तहबाट निर्माण गरिएका कानुन,नियम,निर्देशिका ,कार्यविधि आदि राजपत्रबाट प्रकाशन गर्नुपर्ने व्यवस्था भए बमोजिम सो राजपत्र प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले वताउनु भयो ।  जारी राजपत्रले स्थानीय सरकार सञ्चालनमा सहयोग पुग्ने उहाँले वताउनु भयो ।
राजपत्रले गाउँपालिकाका मूलभूत पाँच वटा विषयलाई कार्यविधि तयार गरि लागू गरेको छ ।जारी राजपत्रमा गल्छी गाउँपालिका आर्थिक ऐन २०७४, गल्छी गाउँपालिका ( कार्यसम्पादन) नियमावली २०७४, गल्छी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्वन्धी कार्य विधि–२०७४, गल्छी गाउँपालिका (कार्य विभाजन) नियमावली–२०७४ रहेको छ । राजपत्र प्रकाशनले गाउँपालिकाबाट जारी हुने नियम, कानुन कार्यान्वयनमा ल्याउन सहज हुने प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले बताउनु भयो ।रेग्मी अनुसार राजपत्रमा प्रकाशित भएका कार्यबिधि, नियमावली तथा निर्देशिका स्वतः कार्यान्वयन तहमा जानेछ । राजपत्र सामन्यतया ६–६ महिनामा प्रकाशन हुनेछ । विशेष परिस्थितिमा आवश्यकता अनुसार प्रकाशन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
राजपत्रको सम्पादन प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले गर्नु भएको हो  ।