अर्गानिक तरकारीको प्रचार गर्न गाउँमा पुगेका पत्रकारलाई तरकारीकै माला

2319 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आईतबार गाउँमा पुगेका पत्रकार, जनप्रतिनिधि र सरकारी कर्मचारीलाई किसानले खुर्सानी,करेला, गोलभेंडा,आलुको माला लगाएर स्वागत गर्दा सबै दङ्ग भएका थिए । हरेक कार्यक्रममा फुलको माला मात्रै लगाईदिने  परम्परालाई तोड्दै गजुरी गाउँपालिका वडा नम्बर ५ ढोडेनी र माने भन्ज्याङका किसानहरुले व्यवसायिक रुपमा अर्गानिक खेती प्रणालीको बिषयमा प्रचार प्रसार गर्न यस्तो शैली अपनाएका हुन ।
गजुरी गाउँपालिका वडा नम्बर ५ को माने भन्ज्याङ र ढोडेनीका महिला किसानहरुले २०७४ माघ देखि गाउँमा २ वटा समूह निर्माण गरी अर्गानिक तरकारी खेती गर्दै आईरहेका छन् । जग्गा भाडामा लिई अर्गानिक खेती प्रणालि अबलम्बन गरेका महिलाहरुले अर्गानिक तरकारी बिक्री गर्न वजार नपाएको,मुल्यमा ठगिनु परेको गुनासो गरेका छन् ।
खेतीपातिको लागि प्रयोग हुने आर्गानिक जैविक मलको लागि गाउँ घरमै पाईने बस्तुहरु मिलाएर मल तथा औषधिको रुपमा प्रयोग गरी यहाँको लगनशिल आत्मनिर्भर महिला समूह र मानेभन्ज्याङ आत्मनिर्भर महिला समूहले यो बर्ष घिरौंला,करेला,कांक्रो उत्पादन गरि बिक्री गरेका छन् ।
कुनै पनि विषादी प्रयोग नगरी उत्पादन गरेको तरकारी बेच्न लैजांदा पनि व्यापारीहरुले अनेक शंका गरी हतोत्साही वनाएर अन्य तरकारी जस्तै गरी विक्री गर्न वाध्य पार्ने गरेको लगनशिल आत्मनिर्भर महिला समूहका अध्यक्ष मित्रकुमारी मगर वताउनुहुन्छ ।
अर्गानिक बस्तु उत्पादन गरी स्वच्छ विषादीरहित तरकारी खुवाउने अभियानमा लागेका यहाँका किसानले आफ्नो समस्या समाधानका लागि पहल गरिदिन आईतबार गाउँमा पुगेका पत्रकारहरुलाई खुर्सानी, करेला, गोलभेंडा, आलुको माला वनाएर लगाईदिएका थिए । अर्गानिक तरकारीको प्रयोग गर्नुपर्दछ भन्ने मानसिकताको विकास हुन नसक्दा अर्गानिक खेतीमा लागेका यहाँका अधिकांस किसानहरु उचित मुल्य पाउन नसकेर मर्कामा परेका हुन् ।
कृषि बजारको अभाव र अन्य भन्दा केही केही महङ्गो पर्ने भ्रमका कारणले पनि अर्गानिक तरकारीले बजार पाउन नसकेको अर्गानिक तरकारी खेती गर्ने किसानहरुकोे भनाई रहेको छ । राजमार्गको नजिकै रहेको र तरकारी वालीका लागि उपयुक्त हावापानी र वाताबरण भएका कारण ढोडेनी र मानेभन्ज्याङमा अर्गानिक तरकारी खेती विस्तार गर्न २०७४ माघ २५ गते दखि आईपिएम कृषक पाठशाला संचालन गरिएको छ । आईपिएम कृषक पाठशाला सञ्चालनका लागि गजुरी गाउँपालिकाको समन्वय र युनाईटेड मिशन टु नेपाल र प्रयास नेपाल धादिङले आर्थिक तथा प्राविधिक सहयोग पु¥याएका छन् ।
धादिङ जिल्लामा पछिल्लो समय अर्गानिक कृषि प्रणाली अपनाएर तरकारी उत्पादन गर्ने किसानहरुको संख्यामा बृद्धि हुंदै गएपनि वजारको अभाव र प्रमाणिकरणको समस्याले गर्दा किसानले उत्पादन गरेको उत्पादनले उचित वजार पाउन नसकेको आईपिएम कृषक पाठशालाका अगुवा प्रशिक्षक कृष्ण पोखरेल बताउनुहुन्छ ।
राजमार्ग आसपासका वस्तीहरुका किसानहरु बिषादीको प्रयोग गर्न छाडेर प्राङ्गारिक मल, तथा जैविक बिषादी वनाई तरकारी खेतीमा लागेकाले सडक छेउमा अर्गानिक तरकारीको बिक्री स्टल खोलेर वजार प्रवद्र्धन गर्न लाग्नु पर्ने गजुरी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामचन्द्र मिजारले वताउनु भयो ।