घर बाहिर जुत्ता चप्पल खोल्नुहोस,मोटोपन घटाउनुस

2916 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

घरभित्र प्रवेश गर्नुअघि जुत्ता चप्पल फुकाल्नाले स्लिम बन्न सहयोग गर्ने एक अध्ययनले सुझाएको छ । यसरी जुत्ता बाहिर फुकाल्दा हर्मोन परिवर्तन गर्न सक्रिय हुने रसायनहरू घरभित्र प्रवेश गर्न नपाउने पोर्चुगलस्थित युनिभर्सिटी अफ एभियोरो र युनिभर्सिटी अफ बेरा इण्टेरियरका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले देखाएको हो । हाल विश्वमा मोटोपन जटिल समस्या बनिरहेको छ भने युवा तथा साना बालबालिका यसको चपेटामा बढी आएका छन् ।

हाम्रो शरीररले फ्याट स्टोर गर्ने र प्रशोधन गर्ने प्रक्रियामा हस्तक्षेप गर्ने ‘ओबेसोजेन्स’ नामक रसायन नै मोटपन बढ्नुको प्रमुख कारण रहेको अध्ययनमा भनिएको छ । हामीले खाने खाना, घरभित्रको धूलो, कस्मेटिक्स, भान्सामा प्रयोग गरिने सामान र दैनिकजसो प्रयोगमा आउने सरसफाइसम्बन्धी रसायन नै ओबेरोजेन्सको प्रमुख स्रोत रहेको बताइएको छ । ‘ओबेसोजेन्स हाम्रो खानामा केही कीटनाशक र आर्टिफिशियल स्विट्नरमा पनि पाइन्छ,’ युनिभर्सिटी अफ लिस्बनकी एना काटारिना सोउसाले भनेकी छन् ।

त्यसैगरी, यस्तो तत्त्व प्लाष्टिक र घरायसी उत्पादनमा पनि पाइन्छ । मोटोपन रोक्न घरबाहिर जुत्ता फुकाल्न र दैनिक रूपमा घर सफा गरेर धूलो टिक्न नदिन अनुसन्धानकर्ताले सुझाएका छन् । त्यस्तै, प्रशोधित र प्याकेटका खानाभन्दा ताजा खाना रोज्न पनि उनीहरूले सल्लाह दिएका छन् । मोटोपन बढाउन ओबेसोजेन्सको केकस्तो योगदान हुन्छ भन्नेबारे थप अध्ययन गर्न आवश्यक रहेको पनि उनीहरूको भनाइ छ । एक वयस्कले दैनिक ५० मिलिग्राम धूलो खाइरहेका हुन्छन् भने बालबालिकाले त्योभन्दा दोब्बर गुणा धूलो खाने गरेका छन् । त्यसैले घर सफा राख्नु एउटा प्रभावकारी उपाय हो । घर सफा राख्न कुनै रसायनयुक्त उत्पादनको प्रयोग गर्नुभन्दा चिसो कपडाको प्रयोग गर्नु राम्रो भएको पनि अध्ययनमा सुझाइएको छ । रासस/पीटीआई