पाल्पा बस दुर्घटना : डिभिजन सहकारी  धादिङका पुर्व प्रमुख कृष्णवहादुर वोहरा सहित १३ जनाको मृत्यु 

1728 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पाल्पा ।  पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा  भएको दुर्घटना परि डिभिजन सहकारी  धादिङका पुर्व प्रमुख हाल डिभिजन सहकारी पाल्पाका प्रमुख कृष्णवहादुर वोहरा सहित १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा १० पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो ।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १५० मिटर तल खसेको प्रउ पन्तले जानकारी दिए । बसमा २७ जना सवार थिए । घाइतेमध्ये १० जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । गएरातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेको पहिचान खुल्यो :

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउने १३ जनाकै पहिचान खुलेको छ । प्रहरीका अनुसार विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड, दुर्गा श्रेष्ठ र कृष्ण्णबहादुर बोहराको ज्यान गएको हो । सचिन बज्राचार्य र कमला कार्कीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । ज्यान गुमाउने कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् ।