गजुरी स्वास्थ केन्द्रमा सुत्केरीले यातायात खर्च पाउन छोडे

2227 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित प्राथमिक स्वास्थ केन्द्रमा सुत्केरी भएका सुत्केरीले यातायात खर्च पाउन छोडेका छन् । स्वास्थको विभिन्न शीर्षकको बजेट स्थानीय स्तरमा आउन थालेपछि सुत्केरीले यातायात खर्चको रुपमा पाउने भत्ता समेत समय मै पाउन छोडेका हुन् ।

महिनामा करिब ४० जना सुत्केरी हुने गजुरी स्वास्थ्य केन्द्रमा पछिल्लो डेढ महिनामा सुत्केरी भएका ४२ जना सुत्केरीले यातायात खर्च बापतको रकम र सुत्केरी उत्प्रेरणा भत्ताको रकम पाएका छैनन् न्यूज 24 डट कमले खबर लेखेको छ ।

गाउँपालिकाले सुत्केरी भत्ता र कर्मचारी तलब शीर्षकमा बजेट नआएको भन्दै रकम नदिंदा सुत्केरी भत्ता नदिएको गजुरी स्वास्थ केन्द्र कि प्रमुख डा सुनिता तिमल्सिना बताउनुहुन्छ ।

गत आर्थिक बर्षबाट स्थानीय तहमै बजेट आएपछि औषधि खरिद पनि नियमित भएको छैन । गाउँपालिकाले जिल्लाले औषधि दिन्छ भन्ने र जिल्लाले गाउँपालिका देखाउने कारण कतिपय औषधि स्वास्थ्य केन्द्रले आफै समेत खरिद गरेको जनाएको छ । अहिले निशुल्कको २५ प्रकारका औषधि मात्र स्वास्थ केन्द्रमा छ ।

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ जना स्वास्थ्यकर्मीले ४ महिनादेखि तलब समेत पाएका छैनन् । धादिङ जिल्लाको ठूलो बजार मानिने गजुरीमा रहेको यो स्वास्थकेन्द्रले करिब २८ हजार जनतालाई स्वास्थ सेवा दिने जिम्मा बोकेको छ । स्थानीय निकायमा स्वास्थको बजेट आउने र स्वास्थ्यको संवेदनशीलतालाई जनप्रतिनिधिले प्राथमिकतामा नराख्दा सरकारले बजेट छुट्याए अनुरुपको सेवाको अनुभव जनताले पाएका छैनन् ।